धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

कैलाली र कञ्चनपुरमा साढे सात लाखको अवैध सामान बरामद

कैलाली र कञ्चनपुरमा साढे सात लाखको अवैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरमा साढे ७ लाख रुपैयाँको अवैध सामान बरामद गरिएको छ । कैलालीमा प्रहरीले ५ लाख बढी र कञ्चनपुरमा दुई लाख बढिको अवैध सामान बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट बिहीबार प्रहरीले पाँच लाख २३ हजार ९७० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिका–३ को ट्राफिक रिसोट नजिक, मायामेट्रो हस्पिटल नजिक, ९ को त्रिवेणीघाट, गोदावरी नगरपालिका–४ को गोदावरी हनुमान मन्दिर नजिक, गोदावरी वनदेवी मन्दिर नजिक र टीकापुर नगरपालिका– ९ को खक्रौलाबाट भारतबाट भन्सार छली गरि ल्याएको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका सामानमा बच्चाको खेलौना, नेपकिन, केक, विभिन्न किसिमका कपडा, जेसीबी र स्काईभेटरका विभिन्न पाटपुर्जा, ट्याक्टरका विभिन्न पाटपुर्जा, भाँडाबर्तन, मोबाइल कभर, चार्जिङ पिन, डिस्प्ले, टर्च लाईट, बोईलर कुखुरा, सिद्रा माछा लगायत छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले ती सामान बरामद गरेको हो । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

यस्तै, कञ्चपुरमा पनि दुई लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट बिहीबार दुई लाख ३० हजार आठ सय बराबरको अवैध सामान बरामद गरिएको हो ।

भीमदत्त नगरपालिका–११ को भुजेला, बेलौरी नगरपालिका–५ को मैना र दोधाराचाँदनी नगरपालिका– ३ जमुनाघाडीबाट प्याज, अचार, बिउबिजन, विभिन्न किसिमका कपडा, हार्डवयर लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।