धनगढी पोष्ट
शुक्रबार, ०२ फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढीमा तेस्रो सीसीएस प्लस टु कप अन्तरविद्यालय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढीको रंगशालामा यही फागुन ४ गतेदेखि ९ गतेसम्म अन्तरविद्यालय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।
धनगढीमा शुक्रवार क्रेसेंट सिटी स्कुलले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको थियो ।
प्रतियोगिताले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका साथै आत्मविश्वास, अनुशासन, सामाजिक एकता, मनोरञ्जन र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने विश्वास गरिएको सिसिएस कलेजका अध्यक्ष हरि रेग्मीले बताए ।
विद्यालय तहबाट आयोजित यस प्रकारका प्रतियोगिताले खेलाडीलाई प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगितामा आयोजकका दुई टिम र अन्य विद्यालयका १४ टिम गरेर १६ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिमले नगद ८५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलकर्तालाई दुई हजार पाँच सय उत्कृष्ट गोलरक्षकलाई दुई हजार पाँच सय प्रदान गरिनेछ । साथै, प्रत्येक खेलमा ह्याट्रिक गर्ने खेलाडीलाई एक हजार नगद पुरस्कार दिइनेछ ।
प्रतियोगितामा स्थानीय, जिल्ला तथा प्रदेश स्तरका खेलाडी, प्रशिक्षक, व्यवस्थापक गरी करिब तीन जना प्रत्यक्ष रूपमा सहभागी हुने छन् ।प्रतियोगिता अवधिभर करिब ५० हजार दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको छ ।
खेलकुदको माध्यमबाट विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ।