धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

रोजगारी नपाउँदा भारत लागे बादी समुदाय

रोजगारी नपाउँदा भारत लागे बादी समुदाय

कञ्चनपुर । रोजगारी नपाउँदा कृष्णपुर नगरपालिका-२ गुन्यालफाँटाका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन्। जीविकोपार्जनका लागि केही सिप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन्। 

परम्परागत पेशा-व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन्। बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना (बादी) ले बताए। 

‘परम्परागत पेशाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उनले भने, ‘वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पलायन हुनुपरेको छ।’

ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेशा संकटमा परेको उनले बताए। 

बादी समुदायको परम्परागत पेशा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

‘माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्’, दुरादेवी कुमालले भनिन्, ‘परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने कारण पनि पुरानो पेशालाई तिलाञ्जली दिनुपरेको छ।’

परम्परागत पेशा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए।