धनगढी पोष्ट
शनिबार, १७ फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढीको नवजीवन अस्पतालबाट एक वर्षको अवधिमा ४८ हजार नौ सय ५३ जना बिरामीले उपचार सेवा लिएका छन् । गत वर्षको फागुनदेखि यो वर्षको माघ मसान्तसम्म एक वर्षमा विभिन्न रोगका उक्त बिरामीले उपचार सेवा लिएका हुन् ।
अस्पतालको १९ औँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका अध्यक्ष यज्ञराज ढुङ्गानाले बहिरङ्गबाट ३२ हजार एक सय ८८ जनाले, अन्तरङ्गबाट पाँच हजार छ सय ९७ र इमरजेन्सीबाट चार हजार ४९ जना बिरामीले सेवा लिएको बताए ।
उनले एक वर्षको अवधिमा एक हजार पाँच सय ३९ जनाले निःशुल्क सुत्केरी सेवा, दुई हजार नौ सय ६६ बालबालिकाले निःशुल्क खोप सेवा लिएका र अस्पताल भित्र तथा विभिन्न स्थानमा सञ्चालित स्वास्थ्य शिविर मार्फत दुई हजार पाँच सय १४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको बताए ।
अस्पतालले विभिन्न १७ वटा सेवा दिँदै आएको बताउँदै उनले अस्पतालमा २५ जना विशेषज्ञसहितका चिकित्सकबाट सेवा दिइँदै आएको बताए । अध्यक्ष ढुङ्गानाले नेपाल सरकारबाट सञ्चालित आमा सुरक्षा कार्यक्रम, निःशुल्क खोप, निःशुल्क क्षयरोग औषधी वितरण र सामाजिक सुरक्षा कोष (स्वास्थ्य उपचार केन्द्र) का सेवाहरू प्रदान गरिँदै आएको बताए ।
२०६२ साल फागुन १७ गते धनगढीमा खुलेको निजी स्तरको नवजीवन अस्पताल २०७९ असोजबाट एक सय शय्या क्षमतामा सञ्चालित छ। अस्पतालले गत वर्षदेखि दस शय्याको डायलाइसिस सेवा समेत चलाएको छ।
नवजीवन अस्पतालबाट सामाजिक सुरक्षामा आबद्ध सर्वसाधारणले आइपिडी र ओपिडीमा ८० प्रतिशत तथा दुर्घटना भएको अवस्थामा निःशुल्क उपचार पाउने भएका छन्। सामाजिक सुरक्षा कोषबाट नवजीवन अस्पताल सम्मानित समेत भएको थियो ।
अस्पतालले सामाजिक सुरक्षामा आबद्ध सबैभन्दा बढी बिरामीको उपचार गरेकाले सम्मानित भएको हो। सो कार्डबाट सामान्य बिरामीले २५ हजार र भर्ना भएको खण्डमा एक लाख सम्मको उपचार गर्न पाउने व्यवस्था रहेको छ ।
दुर्घटना भई उपचार गरेको खण्डमा सात लाख मूल्य सम्मको उपचार पाउने व्यवस्था रहेको छ । नवजीवन अस्पतालमा डिप्लोमा तहको नर्सिङ, सामान्य चिकित्सा र फार्मेसीको अध्यापन हुने गरेको छ।
अस्पतालले अहिले ६ वटा बेडबाट डाइलासिसको विपन्न सुविधा दिइरहेको नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डा.बिदुरमणि ढकालले बताए । डाइलासिसको बिरामीको चाप बढी रहेकोले बेडको संख्या बढाएर १८ बेडसम्म पुगाउने तयारी गरिरहेको उनले बताए ।
विगतका दिनमा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम समेत लागु गरेको भए पनि अहिले आर्थिक अभावका कारण उक्त कार्यक्रम बन्द रहेको उनले बताए ।
वार्षिकोत्सवको अवसरमा अस्पतालले रक्तदान, बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै ट्राफिक प्रहरीलाई ३० वटा डिभाइडर हस्तान्तरण गरेको छ।
