धनगढी पोष्ट
मङ्गलबार, २० फागुन २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले शुक्ष्मवर्गीकरण केन्द्रमार्फत कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गरी ४५ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
उपमहनगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनमहिनादेखि फागुन चौथो सातासम्म र गत आर्थिक वर्ष २०८०÷०८१ मा फोहोर बिक्रि गरेर आम्दानी गरेको हो ।

उपमहानगरपालिका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार चालु आर्थिक वर्षको आठमहिनामा २० लाख रुपैयाँ र गत आर्थिक वर्षमा २५ लाख ५५ हजार रुपैयाँ बराबरको फोहोर बिक्रि भएको छ । कुहिने र नकुहिने फोहोरलाई वर्गीकरण गरेर बिक्रि वितरण गर्ने गरेको उनले बताए ।
उपमहानगरपालिकाले गत आर्थिक वर्षदेखि फोहोर बिक्रि वितरण गर्दै आएको भएपनि चालु आर्थिक वर्षदेखि नीजि कम्पनी मार्फत ठेक्का लगाई फोहोर बिक्रि वितरण गर्दै आएको छ ।

उपमहानगरपालिकाले धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१÷०८२ देखि २०८६÷०८७ सालसम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ ।
उपमहानगरपालिकाले नन्दादेवीलाई पहिलो वर्ष ७२ लाख २१ हजार रुपैयाँका दरले ठेक्का दिएको हो । पहिलो वर्षको ठेक्का रकम अनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्ने गरी ठेक्का सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।
सरसफाइ व्यवस्थापन शाखा प्रमुख अवस्थीले शहरी वडा र आंङ्कशीक वडा गरेर नौ वटा वडाबाट दैनिक २१ टन फोहोर संकलन गर्ने गरेको बताए । त्यसमध्ये पनि आधा जति नकुहिने फोहोर संकलन हुने गरेको उनले बताए ।

उनका अनुसार वडा नम्बर १ देखि ८ र वडा नम्बर १३ बाट दैनिक फोहोर संकलन कार्य भइरहेको छ । उनले बाँकी रहेका १० वटा वडामा सरसफाइ अभियान मार्फत व्यापारी केन्द्रहरुमा डस्बिनहरु राखेर फोहोर संकलन कार्य गरिरहेको बताए ।
अवस्थीका अनुसार नकुहिने तीन वटा फोहोर डाइपरप्याम्पर, सेन्टरीप्याड, कुखुराको प्वाक र मन्टिलेर प्लास्टिक (कुरकुरे र चाउचाउ) को खोलहरुलाई प्रयोगमा ल्याउन नसक्दा समस्या हुने गरेको छ ।

उनले प्रयोगमा आउन नसकेका फोहोरहरुलाई वडाको सिफारिसमा खाली जमिन खोजेर त्यसठाउँमा थुपारेर छोप्ने गरेको बताए । संकलित फोहोरहरु मध्य ७० प्रतिशत फोहोरहरु प्रयोगमा ल्याउने गरेको उनले बताए ।
संकलित फोहोर मध्य कुहिने फोहोरबाट बायोग्यास निकालिने र नकुहिने फोहोरहरु प्रयोगमा ल्याउनका लागि बिक्रि वितरण गर्ने गरेको उनको भनाइ छ ।

धनगढी बजार र बस्तीबाट २१ वटा ट्रयाक्टरमार्फत कुहिने ठोस र नहुकिने फोहोर संकलन गरी शुक्ष्मवर्गीकरण केन्द्रमा लगेर कागज, प्लास्टिक, धातु, कपडा, सिसा, काठ, दाउरा, विभिन्न किसिमका तार, रेडियो, टिभी, मोबाइल, लगायतका विद्युतीय सामग्रीहरु र रबरलाई छुट्याएर राख्ने गरिएको छ । वर्गीकरण केन्द्रमा कागज, प्लास्टिकलगायत फोहोर टुक्र्याउन र दबाउन तीनवटा मेसिन राखिएका छन् ।
उपमहानगरपालिकाले १५ वर्षका लागि वार्षिक एक लाख २५ हजार रुपैयाँका दरले भाडा तिर्ने गरी दुई बिघा जमिन भाडामा लिई ३० लाख लगानीमा शुक्ष्मवर्गीकरण केन्द्र सञ्चालनमा ल्याएको हो ।

शुक्ष्मवर्गीकरण केन्द्र सञ्चालनका लागि ठेक्का पाएको नन्दादेवी सेवा केन्द्रका सञ्चालक हस्तबहादुर शाहले बजारबाट संकलित फोहोरहरुलाई धनगढी, बिराटनगर, भैरहवा र दाङलगायतका बजार र केही लोकल बजारहरुमा बिक्रि वितरण गर्दै आइरहेको बताए ।
उनले फोहोरहरुको केही बजारीकरण नहुँदा बेच्नलाई समस्या हुने गरेको बताए । फोहोरलाई बजारको मूल्य अनुसार नै बिक्रि वितरण गर्न गरेको उनले बताए । शुक्ष्मवर्गीकरणमा एक सय ४० जना जतिलाई रोजगारी दिइएको उनको भनाइ छ ।
