धनगढी पोष्ट बिहिबार, २२ फागुन २०८१   March 6, 2025

कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दै

कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दै

धनगढी । कैलालीमा राष्ट्रिय परिचयपत्र बनाउने नागरिकको संख्या बढ्दै छ । गृह मन्त्रालयद्वारा राष्ट्रिय परिचय पत्रका लागि वैयक्तिक तथा जैविक विवरण दर्ता कार्यक्रममा नागरिकको संख्या बढ्दै जान थालेको हो । 

जिल्ला प्रशासन कार्यालय कैलालीका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा प्रमुख अमरबहादुर बिष्टका अनुसार २०८१ साल वैशाखदेखि फागुन चौथो सातासम्म २६ हजार नौ सय ९४ जनाले वैयक्तिक तथा जैविक विवरण दर्ता गरेका छन् । २०८१ सालको ११ महिनामै २०८० साल भन्दा १४ हजार चार सय ७१ जना बढीले  राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका हुन् । 

शाखा प्रमुख बिष्टका अनुसार २०८० सालमा १२ हजार पाँच सय २३ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका थिए ।  २०८० मा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराउने संख्या २०७९ को भन्दा चार सय ७० ले कमी हो । २०७९ सालमा १२ हजार नौ सय ९३ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता भएको थियो ।

२०७८ सालमा १० हजार पाँच सय २३ जनाको विवरण दर्ता भएको थियो । जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता कार्य शुरु भएको साल २०७७ मा सात हजार नौ सय ६२ जनाको विवरण दर्ता भएको उनले बताए । उनले पाँच वर्षको अवधिमा १७ हजार चार सय १० जनाको कार्य वितरण समेत गरेको बताए । 

गृह मन्त्रालयले कैलालीमा २०७७ साल भदौ महिनादेखि जिल्ला प्रशासन कार्यालयभित्रै वैयक्तिक तथा जैविक विवरण दर्ता कार्य शुरु गरेको थियो । 
राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रदान गर्ने उद्देश्यले संकलन गरिएको राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गर्न शुरु गरिएको हो । 

सबै नेपाली नागरिकहरूको वैयक्तिक तथा जैविक विवरणलाई केन्द्रीकृत रुपमा भण्डारण सहित सबै परिचय खुल्ने र नदोहोरिने गरी बहुपयोगी राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गर्ने संघीय सरकारको उद्देश्य अनुरुप विवरण संकलन भइरहेको हो ।

No description available.

शाखा प्रमुख बिष्टले कैलालीमा स्थायी बसोवास गरेर बसेका नागरिकहरुको परिचयपत्र बनाउनेको दर्ता संख्या लगभग कम भइसकेको बताए । अहिले नयाँ नागरिकता बनाउने, देशविदेशमा भएका र कैलालीमा कार्य क्षेत्र भएका बाहिरी जिल्लाका नागरिकहरुले परिचयपत्र बनाउन कार्य भइरहेको उनले बताए ।

अहिले सरकारी कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले गर्दा पनि परिचयपत्र बनाउनेको संख्या बढेको उनको भनाइ छ । उनले दैनिक एक सय ५० भन्दा बढी वैयक्तिक तथा जैविक विवरण दर्ता भइरहेको बताए । 

विवरण दर्ता गर्नेको संख्या दैनिक बढी रहेको भए पनि कार्ड लिन आउनेहरुको संख्या न्यून रहेको उनले बताए । उनले भने, ‘दैनिक २०÷२२ जना मात्रै कार्ड लिन आउँछन् । नागरिकहरु कार्ड लिन नआउँदा कार्ड थन्किएको छ ।’