धनगढी पोष्ट
बुधबार, २१ फागुन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम देव भूमिको प्रदेश रहेको बताएका छन् । धनगढीमा श्रीमद्भागवत कथा सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री शाहले भने, ‘सुदूरपश्चिममा हामी यहाँको ढुङ्गा–ढुङ्गालाई पूजा गछौँ । हामी देव भूमि भन्छौँ । हामी यती धार्मिक छौँ । हामी सनातन धर्मलाई निरन्तर मान्दै आएका छौँ । यसलाई जगेर्ना गर्नुपर्छ भने सन्दर्भमा पनि हामी लागेका छौँ । यो देव भूमिलाई हामी सबैले चिन्नुपर्ने जरुरी छ र चिनाउनुपर्ने जरुरी छ ।’
मुख्यमन्त्री शाहले सुदूरपश्चिमको माटो, देवस्थल लगायत नदीनालाहरूलाई मुलुक भित्र मात्रै नभई मुलुक बाहिर पनि चिनाउने सन्दर्भमा कथावाचिका पूज्या राधिका दासजीको अत्यन्तै महत्त्वपूर्ण भूमि रहने बताए ।
सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधवारदेखि शुरु भएको श्रीमद्भागवत कथा सप्ताह ज्ञान महायज्ञ फागुन २७ गतेसम्म सञ्चालन हुने छ, भने सप्ताह ज्ञान महायज्ञमा भागवत मञ्जरी पूज्या राधिका दासीले प्रवचन दिनेछिन् ।