धनगढी पोष्ट बुधबार, २८ फागुन २०८१   March 12, 2025

कांग्रेसको प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

कांग्रेसको प्रदेश स्तरीय प्रशिक्षण धनगढीमा सुरु, सभापति देउवाद्वारा उद्घाटन

धनगढी । धनगढीमा नेपाली कांग्रेस पार्टीको प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सभापति  देउवाले आगामी निर्वाचन २०८४ मा केन्द्रित भएर पार्टीलाई अघि बढाउन आवश्यक रहेको बताए ।

देउवाले पार्टीलाई एकढिक्का बनाउदै २०८४ मा केन्द्रित भएर काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

सभापति देउवाले आपसमा मेलमिलाप, समझदारी कायम गरि जनताको मन जितेर एकताबद्ध भएर अघि बढ्नु पर्नेमा जोड दिए । 

सुदूरपश्चिम प्रदेशबाटै जितको लहर ल्याउने गरि अहिलै देखि निर्वाचनको तयारी थाल्नु पर्ने उनले बताए । उनले प्रशिक्षण कार्यक्रमले नेता कार्यकर्तामा थप उत्साह, जाँगर ल्याउने विश्वास ब्यक्त गरे ।

त्यस क्रममा पार्टी उपसभापति पूर्णबहादुर खड्का, प्रदेश सभापति वीर बहादुर बलायरले पार्टीलाई बलियो बनाएर लैजानु पर्ने छ, त्यसका लागी सबै नेता कार्यकर्ता एकजुट भएर लाग्नु पर्ने बताए । 

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट गरि डेढ सय अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रम मंगलबार र बुधबार दुई दिन सम्म चल्ने काँग्रेस प्रदेश महामन्त्री नरनारायण शाहले बताए ।