धनगढी पोष्ट
मङ्गलबार, २७ फागुन २०८१ मा प्रकाशित
धनगढी । कैलालीको अत्तरियामा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
अत्तरिया नो लाइटमा फोर म्यानका रूपमा कार्यरत सुन्दरलाल चौधरीमाथि खुकुरी प्रहार गरेको आरोपमा मार्टेन भनिने २० वर्षीय प्रविन शाही पक्राउ परेका हुन ।
उनलाई सोमबार गेटा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चौधरीमाथि फागुन २२ गते कार्यालय परिसरमै खुकुरी प्रहार भएको थियो ।
तीन मोटरसाइकलमा आएका ६ जनाको समूहले चौधरीमाथि खुकुरी प्रहार गरेको थियो । अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका चौधरीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ ।