धनगढी पोष्ट
शुक्रबार, ३० फागुन २०८१ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा निःशुल्क रुपमा पाइने औषधी अभाव भएको छ । प्रदेश सरकारले निःशुल्क पाइने औषधीको समयमै खरिद प्रक्रिया अघि नबढाउँदा स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका स्टोर शाखा किपर जगतबहादुर सिंहले निःशुल्क पाइने औषधी लामो समयदेखि उपलब्ध नभएका कारण समस्या भएको बताए ।
रेबिज विरुदको खोप, सिकलसेल एनिमिया विरुद्धको औषधी, क्षयरोगको औषधी जस्ता महत्वपूर्ण औषधीको अभाव रहेको उनले बताए ।
उनले औषधी अभावका बारेमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई जानकारी गराइएको भए पनि उपलब्ध नभएको बताए ।
उनले भने, ‘आपूर्तिमा सोध्दा आउँदैछ औषधी आएपछि खबर गछौँ मात्रै भन्छन् । खै कहिलेसम्म आउँछ ?’ अस्पतालमा रेबीज विरुद्धको औषधी नहुँदा आफूहरुले बाहिरबाट औषधी खरिद गरेर बिरामीलाई लगाउने गरेको उनले बताए ।
संघीय सरकारले निःशुल्क ९८ प्रकारका अत्यावश्यकीय औषधी नागरिकलाई वितरण गर्दै आइरहेको भए पनि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका नागरिकलाई ५६ प्रकारका अत्यावश्यकीय औषधी खरिद गरी निःशुल्क वितरण गर्दै आइरहेको छ ।
प्रदेश सरकारले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट औषधी खरिद गरी प्रदेशका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक अस्पतालबाट नागरिकलाई नि ःशुल्क औषधी उपलब्ध गराउँदै आइरहेको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक झनकराज ढुंगानाले बजेट समयमै नआएका कारण औषधि खरिद प्रकृयामा ढिलाई हुँदा समस्या भएको बताए ।
हाल औषधी खरिद प्रकृयाका लागि ठेक्का सम्झौता भइसकेकाले छिट्टै स्वास्थ्य संस्थामा निःशुल्क रुपमा उपलब्ध हुने औषधी उपलब्ध गराइने उनले बताए । उनले प्रदेशमा कति औषधी आवश्यक पर्छ भन्ने बारेमा पनि यकिन तथ्याङ्क नहुँदा समस्या हुने गरेको बताए ।
उनका अनुसार ब्लड प्रेसर, मानसिक स्वास्थ्य र सुगर लगायतका दिर्घ रोगीका बिरामीहरुको बढी औषधी खरिद हुने गर्छ । हाल सबै पालिकासंग छलफल गरी प्रदेशमा कति औषधी आवश्यक छ, भन्ने बारेमा एकिन तथ्याङ्क राख्ने काम भइरहेको उनको भनाइ छ ।
संघ, स्थानीय तह र प्रदेश सरकारले छुट्टाछुट्टै औषधी खरिद गर्ने भएका कारण पनि समन्वय अभावका कारण औषधी खरिद प्रक्रिया झण्झटिलो बन्ने गरेको उनले बताए ।
निमित्त निर्देशक ढुंगानाका अनुसार रेबिज विरुद्धको खोप यहाँ मात्रै नभई देशभरमै अभाव रहेको छ । रेबिज विरुद्धको औषधी संघिय सरकारले नै खरिद गर्ने गरेको बताउँदै उनले संघिय सरकारसँगै नै रेबिज विरुद्धको खोप नभएका कारण समस्या भइरहेको बताए ।
रेबिज बिरुद्धको खोप कस्तो अवस्थामा लगाउने भन्ने कुराको जानकारी नलगेरै जथाभावि प्रयोग गर्दा पनि अभाव समस्या देखिने गरेको उनको भनाइ छ ।
निमित्त निर्देशक ढुंगानाले औषधी खरिदका लागि प्रदेशमा बजेटको पनि चरम अभाव रहेको बताए । प्रदेशलाई वार्षिक रुपमा १४ करोडसम्म बजेट आवश्यक पर्ने गरेकोमा वार्षिक चार करोड मात्रै बजेट विनियोजन भइरहेको उनले बताए ।
सरकार सँग थप बजेटका लागि छलफल गरे पनि सुनिश्चितता हुन नसकेको ढुंगानाले बताए । बजेट अभावका कारण प्रदेशमा वर्षभरी औषधी उपलब्ध गराउन नसकिने अवस्था रहेको उनले बताए । आगामी वर्षहरुमा निःशुल्क पाइने औषधीहरुलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाइ छ ।