धनगढी पोष्ट
शनिबार, १७ साउन २०७७ मा प्रकाशित
धनगढी
डोटी स्थित सेती दनीमा नुहाउन गएका दुई जना स्वास्थयकर्मी वेपत्ता भएका छन्, भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।
वेपत्ता हुनेमा डडेल्धुराको परशुराम नगरपालिका–१ का अन्दाजी २१ बर्षे हरी प्रसाद जोशी र बझाङको खप्तड छान्ना गाउँपालिका–५ का विनय सिंह रहेका जिल्ला प्रहरी कार्यालय डाटीले जनाएको छ । उनिहरु शनिबार दिउँसो २ बजेर १५ मिनेटमा बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएका दुवै जना डडेलधुरा अस्पतालमा कार्यरत रहेका थिए ।
उनिहरु डोटी स्थित शैलेस्वरी मन्दिरको दर्शन गरेर फर्कने क्रममा सेतीमा नुहाउन गएका प्रहरीले जनाएको छ । उनिहरु संगै नदीमा पौडिखेल्न गएर बगेका कञ्चनपुर घर भएका खगेन्द्र कुँवरलाई भने जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण सिंह बोहराले बताए ।
प्रहरी निरिक्षक बोहराका अनुसार शैलेश्वरी दर्शन गरेर फर्केका उनिहरु डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउन गएका थिए । वेपत्ता भएका दुबै जनाको खोजी भईरहेको उनले बताए । सेतीमा पानीको वहाव बढी भएको र पानी धमिलो भएका कारण खोजिकार्य गर्न समस्या भएको प्रहरी निरिक्षक बोहराले बताए ।
हराएका स्वास्थ्य कर्मीको खोजिकार्यका लागि इलाका प्रहरी कार्यालय तल्कोट, इप्रका गोबघाट बाट पनि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।