धनगढी पोष्ट
मङ्गलबार, ०५ चैत २०८१ मा प्रकाशित
धनगढी । यही चैत ७ गतेदेखि शुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमका ५८ हजार नौ सय ४३ विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी कृष्ण बहादुर बोहराका अनुसार छात्र २८ हजार ६६ जना र ३० हजार आठ सय ७७ जना छात्रा एसइई परीक्षामा सहभागी हुने छन् ।
उनले सुदूरपश्चिममा साधारण (नियमिततर्फ) ४३ हजार नौ सय २३ जना, प्राविधिक धार तर्फ नियमित दुई हजार ९२ जना र ग्रेडवृद्धी तर्फ १२ हजार नौ सय २८ जना विद्यार्थीले परीक्षामा सहभागी हुने बताए ।
साधारण (नियमिततर्फ) छात्र २१ हजार दुई सय ९६ जना, छात्रा २२ हजार छ सय २७ जना गरेर ४३ हजार नौ सय २३ जना, प्राविधिक धार तर्फ नियमित छात्र एक हजार एक सय ४९ जना, छात्रा नौ सय ४३ जना गरेर दुई हजार ९२ जना र ग्रेडवृद्धीतर्फ छात्र पाँच हजार छ सय २१ जना, छात्रा सात हजार तीन सय सात जना गरेर १२ हजार नौ सय २८ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय दिपायल डोटीले जनाएको छ ।
यस वर्ष एसइई दिने मध्ये प्रदेशमै सबै भन्दा बढी कैलालीका विद्यार्थी र सबै भन्दा कम डडेल्धुराका विद्यार्थी रहेका छन् ।
कैलालीमा ५४ परीक्षा केन्द्र रहेको नौ हजार दुई सय ७२ छात्र, १० हजार दुई सय १६ छात्रा गरेर १९ हजार चार सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
डडेल्धुरामा १३ परीक्षा केन्द्र र एक हजार तीन सय ३७ जना छात्र, एक हजार चार सय ६५ जना छात्रा गरेर दुई हजार आठ सय दुई जना विद्यार्थी रहेका छन् ।
कञ्चनपुरमा ३७ परीक्षा केन्द्र र पाँच हजार तीन सय ७७ छात्र, पाँच हजार नौ सय २४ छात्रा गरेर ११ हजार तीन सय एक विद्यार्थी रहेका छन् ।
बैतडीमा २७ परीक्षा केन्द्र र छात्र दुई हजार पाँच सय ५६ जना, छात्रा दुई हजार सात सय ९७ जना गरेर पाँच हजार तीन सय ६२ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यसैगरी, अछाममा २६ परीक्षा केन्द्रमा छात्र दुई हजार तीन सय ७१ जना, छात्रा दुई हजार छ सय ५८ जना गरेर पाँच हजार २९ जना विद्यार्थी र बझाङमा २० परीक्षा केन्द्रमा छात्र दुई हजार दुई ५४ जना, छात्रा दुई हजार तीन सय ९० जना गरेर चार हजार छ सय ४४ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यस्तै, डोटीमा १५ परीक्षा केन्द्रमा छात्र एक हजार आठ सय ४० जना, छात्रा दुई हजार दुई सय २२ जना गरेर चार हजार ६२ जना, बाजुरामा १७ परीक्षा केन्द्रमा छात्र एक हजार चार सय ५५ जना, छात्रा एक हजार पाँच सय ६३ जना गरेर तीन हजार १८ जना र दार्चुलामा १७ परीक्षा केन्द्रमा छात्र एक हजार पाँच सय ९५ जना, छात्रा एक हजार छ सय ४२ जना गरेर तीन हजार दुई सय ३७ जना विद्यार्थी सहभागी हुँदै छन् । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा दुई सय २६ परीक्षा केन्द्र रहेका छन् ।
सूचना अधिकारी बोहराका अनुसार नौ वटै जिल्लामा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रश्नपत्र, उत्तरपुस्तिका लगायत आवश्यक परीक्षा साम्रगी सम्बन्धी परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको जिम्मा लगाइएको उनले बताए ।
सबै जिल्लामा परीक्षा केन्द्राध्यक्षहरू नियुक्त गरेर उनीहरुलाई अभिमुखीकरण गराइएको उनले बताए । परीक्षा निष्पक्ष, भयरहित शान्त वातावरणमा सम्पन्न गरिने उनको भनाइ छ ।