धनगढी पोष्ट
शुक्रबार, २२ चैत २०८१ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकाले तीन वर्षमा सात सय ४८ वटा सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण गरेको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्ष २०८१÷०८२ सम्म सो संख्यामा कुकुरको बन्ध्याकरण गरेको हो ।
धनगढीमा सामुदायिक कुकुरहरुको संख्या धेरै भएकाले प्रत्येक वर्ष शिविर सञ्चालन गरी बन्ध्याकरण गर्दै आइरहेको उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डा.समीरकुमार ठाकुरले बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को चार दिने शिविरमा दुई सय ८० वटा कुकुरको बन्ध्याकरण गर्न लक्ष्य रहेकोमा दुई सय ८६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा पनि चार दिनको शिविरमा दुई सय ९० वटा कुकुरको लक्ष्य लिएकोमा तीन सय दुई वटा कुकुरको बन्ध्याकरण गरिएको छ, भने आर्थिक वर्ष २०७९÷०८० मा तीन दिन सञ्चालन भएको शिविरमा एक सय ५० वटा कुकुरको लक्ष्य रहेकोमा एक सय ६० कुकुरको बन्ध्याकरण गरिएको छ ।
शाखा प्रमुख डा.ठाकुरले गत वर्षको तुलनामा यस वर्ष बजेट कम हुँदा कम कुकुरहरुको बन्ध्याकरण गरिएको बताए । सामुदायिक कुकुरको बिगबिगीका कारण सडक दुर्घटना बढी हुने र रेविज रोग लागेर कयौँ मानिसहरुको मृत्यु भएकाले गर्दा रेविज नियन्त्रणका लागि बन्ध्याकरणको मुख्य उदेश्य रहेको उनले बताए । कुकुरहरुलाई बन्ध्याकरणका साथै रेविजविरुद्धको खोप लगाइएको उनले बताए ।
सामुदायिक कुकुरले गर्दा गाई, भैँसी.र कुखुरालगायत पशुहरुलाई टोक्न गरेकाले पनि यसलाई नियन्त्रणमा लिनका लागि बन्ध्याकरण गरिएको उनको भनाइ छ । सामुदायिक कुकुरहरुको संख्या नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको उनले बताए ।
उनले भने,‘ पोथी कुकुरलाई हो, बन्ध्याकरण गर्न तर हामीले छोप्दा खेरी भाले कुकुर पनि छोपिने हुँदा भालेलाई पनि गर्न गरेका छौँ । तर सबै भन्दा बढी पोथी कुकुरलाई हो, बन्ध्याकरण गर्नुपर्ने ।’ उनका अनुसार आगामी वर्षदेखि बन्ध्याकरणको लक्ष्य बढाउने उदेश्य रहेको छ ।
धनगढीमा बिहानको समयमा मनिङवाक लगायत हिडडुल गर्दा सामुदायिक कुकुरहरुले टोक्ने तथा लखेट्ने जोखिम बढी रहेको उपमहनगरपालिकाले जनाएको छ ।