शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैन : मुख्यमन्त्री शाह

शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैन : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताएका छन् । 

शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।

 “केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,” मुख्यमन्त्री शाहले भने, “भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।” 

“बिवादित अडियो सन्र्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्दछ, यसमा मेरो व्यत्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,” मुख्यमन्त्री शाहले भने, “दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मूक्ति पाउनु हुँदैन ।”

अख्तियारले छानविन प्रकृया अगाडि बढाईसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गरे ।

संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गरे ।

एक अर्को प्रसंग मुख्यमन्त्री शाहले हामी संघीय संरचनामा गईसकेकोले संघीयताको बिकल्प नरहेको बताए । उनले हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगिकार गरेका छौ, त्यो अनुसारको संविधानलाई संविधानतह निर्माण गरिएका नीति नियमलाई कार्यान्वयनको दिशामा लैजानु पर्ने बताए ।