धनगढी पोष्ट
शनिबार, २३ चैत २०८१ मा प्रकाशित
धनगढी । नयाँ वर्षको स्वागत र कैलालीको गोदावरी क्षेत्रको पर्यटन प्रर्बधन गर्न विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको होटेल स्टेट सेभेनको आयोजनामा चैत्र ३१ गते न्यु इयर इभ बेस सांस्कृतिक कार्यक्रम आयोजना गरिन लागिएको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
इभ बेस कार्यक्रम चैत्र ३१ गते बेलुका ५ बजे देखि राति १२ बजेसम्म होटेल स्टेट सेभेनमा हुने आयोजकले जनाएको छ । २०८१ सालको बिदाइ गर्दै नयाँ वर्ष २०८२ लाई स्वागत गर्न सो कार्यक्रम गरिन लागेको हो ।
उक्त कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति हुनेछ । कार्यक्रममा राष्ट्रिय स्तरकी कलाकार एन्जीला रेग्मीको विशेष प्रस्तुति रहनुका साथै, स्थानीय कलाकारहरूले आ–आफ्नो प्रस्तुति रहने बताइएको छ ।
जसमा चौधरी मोडलमा सदिच्छा चौधरी र धीर विक्रम सिंह लगायतका कलाकारहरूले नाचगान र कमेडी प्रस्तुति गर्नेछन् । कार्यक्रमको प्रवेश शुल्क दुई सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
स्टेट सेभेन होटलले खाने र बस्ने व्यवस्था मिलाएको होटेल सञ्चालक रुुकुम देव भट्टले बताए । राति ढिलो भए पनि आवतजावतमा सहजता ल्याउनका लागि दुई वटा नगर बस र प्राइभेट गाडीको सुविधा पनि मिलाइएको आयोजकले जानकारी दिएका छन् ।
द टुईन्स अफ कम्पीलीट इन्स्टिच्युट डान्सका सञ्चालक तथा कार्यक्रम व्यवस्थापक केशव बलायर लगायतको समूहले गरिरहेको छ । आयोजकका अनुसार कार्यक्रमले गोदावरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्देश्य कला र संस्कृतिको संरक्षण गर्दै गोदावरी क्षेत्रको पर्यटन विकासमा योगदान पुर्याउनु हो । यस कार्यक्रमले आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बढाउने विश्वास व्यक्त गरिएको छ ।
साथै कार्यक्रम स्थलमा राति गन्तव्यतर्फ पुग्न समस्या हुन नदिन शुल्कसहित नगर बस तथा निजी सवारीसाधनको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।