धनगढी पोष्ट
आइतबार, २४ चैत २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रालिले नयाँ व्यवस्थापनका साथ सेवा विस्तार गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्न नयाँ प्रविधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको जनाएको छ ।
नयाँ व्यवस्थापन र सय शैय्यामा विस्तारसँगै अस्पताललाई सेवा र प्रविधि तथा भौतिक पूर्वाधारमा सुदूरपश्चिमकै अग्रणी र अत्याधुनिक स्थानमा राख्न सकिने अस्पतालका अध्यक्ष दीपेन्द्र तिवारीले बताए । दुई वर्ष अगाडि १५ शैयाको अस्पताल अहिले नयाँ टिमका साथ सञ्चालन आएको हो ।
अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेषज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउन्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ मेवा उपलब्ध रहेको उनले बताए ।
उनका अनुसार अस्पतालभित्र उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आइसियु, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको छ ।
गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था, सेवाग्राहीको सहजताका लागि चिसो–तातो मौसमअनुसार आवश्यक सबै स्थानमा एसी जडित संरचना र स्तरीय एम्बुलेन्सको व्यवस्था अस्पतालले गरेको उनले बताए ।
उल्लेखित सेवा सुविधाका लागि अस्पतालमा पूर्णकालीन र आंशिक गरी चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलब्ध छन् । अस्पतालमा सुदूरपश्चिम प्रदेश भरीकै सरकारी तथा निजी अस्पतालमा पहिलो मोडुलर ओटी रहेको उनले बताए ।
जुन ९९ प्रतिशत संक्रमणरहित हुन्छ । निःसन्तान दम्पतीमा लागि अस्पतालले विगतमा आईभीएफ शिविर सञ्चालन गरेकोमा अव पूर्णकालीन आईभीएफ केन्द्र सञ्चालन गर्न लागिएको अध्यक्ष तिवारीले बताए ।
जुन सुदूरपश्चिममा पहिलो हुनेछ । विभिन्न विश्वविद्यालय एवम् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वाट सम्बन्धन लिई आगामी शैक्षिक सत्रबाट नर्सिङ तथा अन्य मेडिकल कोर्सहरूको पढाइ समेत गरिने अस्पताल सञ्चालक रहेका श्याम भट्टले बताए ।
अस्पताललाई वृहत् स्वास्थ्य उपचार र चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्दै लगिने योजना अनुसार निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम, निःशुल्क बिमा कार्यक्रम, नागरिक लगानी कोप र सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरूका लागि विशेष सुविधा सहितको योजना लागु गर्ने उनको भनाइ छ ।
अस्पतालसँग पार्किङ सहित सुविधायुक्त भवन रहेको छ ।
अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सक सहितको टिमबाट विगतमा सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरलाई परिष्कृत गरी थप प्रभावकारी बनाउने योजना बनाएको उनले बताए।
अस्पतालमा आएका बिरामीको रोग पहिचान, उपचार, औधी र निर्यामत चेकजाँचलाई सहुलियतपूर्ण बनाउँदै बिरामी, डाक्टर र अस्पतालको सम्बन्धलाई सुमधुर बनाउन प्रतिबद्ध रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।
आधारभूत विशेषज्ञ स्वास्थ्य सेवाका लागि भारततिर जानुपर्ने बाध्यताको अन्त्यका लागि स्वस्तिक अस्पतालको सेवाले योगदान गर्ने उनको विश्वास छ ।