धनगढी पोष्ट
सोमबार, २५ चैत २०८१ मा प्रकाशित
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पहलमा क्यान्सर अस्पताल भक्तपुरको टोलीले सुदुरपश्चिमका विभिन्न जिल्लामा पुगि स्वास्थ्य परीक्षण गरिरहेको छ ।
स्वास्थ्य टोलीले चैत्र २२ गते अछामको रामारोसन गाउँपालिका र चैत्र २४ गते डडेल्धुराको अमरगढी नगरपालिमा शिविर सञ्चालन गरी महिलाहरुको पाठेघर र स्तन क्यान्सर परीक्षण गरेको हो । टोलीले भोली २६ गते वर्दगोरियाको दोदोधरा अस्पतालमा स्वास्थ्य जाँच गर्ने डेभलोपमेन्ट रिसोर्स मोविलाईजेन्स नेटवर्कका निर्देशक प्रमोदराज ढकालले बताउनु भयो ।
सुदुरपश्चिममा महिलाहरुमा आँङ्ग खस्ने, पाठेघर र स्तन क्यान्सर समस्याका कारण यस क्षेत्रका महिलाहरुले पीडा भोग्नु परेको छ । मुख्यमन्त्री शाहले कुनैपनि महिलाले यो समस्याबाट अकालमा ज्याज गुमाउन नपरोस भनी भक्तपुर क्यान्सर अस्पतालसँग महिलाहरुको स्वास्थ्य जाँचका लागि पहल गर्नुभएको थियो । अछाम र डडेल्धुरामा स्वास्थ्य जाँच गरि फर्केको टोलीसँग सोमबार मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदुरपश्चिममा महिलामा हुने पाठेघर र स्तन क्यान्सरको स्वास्थ्य अवस्थाको वारे जानकारी लिनुभएको छ ।
छाम २ सय ६० जना महिलाको पाठेघर र ३ सय ५० जनामा स्तन क्यान्सर र डडेल्धुरामा १ सय ५० जना महिलाको पाठेघर र १ सय ७० जनामा स्तन क्यान्सरको परीक्षण गरिएको डा. वर्षा प्रसाईले सो अवसरमा जानकारी दिनुभयो । उहाँले अछामका ५ जनामा पाठेघर र १५ जनामा स्तन क्यान्सर र डडेल्धुरामा २० जनामा पाठेघर र २० जनामा स्तन क्यान्सरको शंका लागेकोले थप उपचारका लागि रेफर गरिएको बताउनु भयो । डडेल्धुरामा १ जनामा देखिएको क्यान्सरका कारण अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिको सहयोगमा क्यान्सर अस्पतालमा तत्काल उपचारका लागि रेफर गरिएको छ । शंका लागेर रेफर गरिएका विरामीले स्वास्थ्य बीमा कार्ड रेफरकार्ड देखाइ जुनसुकै अस्पतालमा निःशुल्क क्यान्सर परीक्षण गर्न सक्नेछन । स्वास्थ्य जाँचका लागि ८ वर्षको वालिका देखि ६० वर्ष माथिको महिलाहरु सहभागी रहेका छन ।
परीक्षणमा अछाम र डडेल्धुरामा पाँच÷पाँच सय महिलाहरुमा चेकजाँच गर्ने योजना रहेकोमा सो संख्यामा महिलाहरुको उपस्थिती नरहेको डा. प्रसाईले बताउनु भयो । उहाँले लजाउने, जनचेतनाको कमी, आर्थिक अवस्था कमजोर र यहाँको यातायातको समस्याका कारण स्वास्थ्य जाँच्न कम जना आएको हुन सक्ने बताउनु भयो । जाँचमा आएका करिब ८० प्रतिशतलाई जेनेरल लक्षण देखिएकोले ५ देखि ७ दिनसम्मको निःशुल्क औषधी दिएको सो अवसरमा जानकारी दिइयो । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेको नेतृत्व २२ जनाको टोली सुदुरपश्चिम आएको हो ।