धनगढी पोष्ट बुधबार, २३ पुष २०८२   January 7, 2026

बझाङको थलारा–५ का तीन गाउँ सील गर्ने निर्णय

धनगढी
 एकै दिन १० जना कोरोना संक्रमित फेलापरेपछि बझाङको थलारा गाउँपालिका वडा नम्बर–५ अन्तरगतका तीन वटा गाउँलाई सील गर्ने निर्णय गरिएको छ । 
 शनिबार एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टी भएपछि बझाङको थलारा गाउँपालिका वडा नम्बर–५ अन्तरगत पर्ने दुवाली, ठाडा गाउँ र सार्की गाउँलाई साउन १९ गते राती १२ बजे देखी सील गर्दै सो ठाउँमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । क्वारेण्टाईनबाट घर गएपछि कोरोना संक्रमण पुष्टी भएपछि तीन गाउँलाई सील गरी गाउँका सवैको स्वास्थ्य परिक्षण गर्ने तयारी भइरहेको प्रजिअ भण्डारीले बताए । 
 यसै गरी बझाङकै केदारस्यू गाउँपालिका–६ र ७ का वडालाई पनि साउन १९ गते राती १२ बजे देखी सिल गर्ने निर्णय गरिएको छ । ती दुई वटा गाउँमा शुक्रबार र शनिबार गरी ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टी भएका ६६ जना क्वारेण्टिनबाट घर गएपछि कोरोना संक्रमण पुष्टी भएको हो । शनिबारनै सवै वडालाई सील गर्ने तयारी गरेपनि प्रदेश सरकार संग आवश्यक समन्वय गर्नुपर्ने भएका कारण १९ गते देखी सील गर्ने निर्णय गरिएको प्रजिअ भण्डारीले बताए । 
 यसै गरी कोरोना संक्रमितको संख्या बढेको भन्दै भीमदत्त नगरपालिकाले वडा नम्बर– १३ लाई शनिबार राती देखीनै सिल गरिएको छ । वडा कार्यालयले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १२ बजेदेखि एक साताका लागि सिल गर्ने भएको हो । शनिबार सो वडाका ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।