धनगढी पोष्ट
मङ्गलबार, २६ चैत २०८१ मा प्रकाशित
धनगढी । नयाँ शैक्षिक सत्रका लागि सुदूरपश्चिमका सात पहाडी जिल्लामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले छ लाख ७८ हजार नौ सय ८८ थान पाठ्यपुस्तक बिक्रि वितरण गरेको छ ।
चैत १७ गतेदेखि बिक्रि वितरण सुरु गरेको प्रादेशिक कार्यालयले सोमबारसम्म प्रदेशका सात पहाडी जिल्लामा सो संख्यामा पाठ्यपुस्तक बिक्रि वितरण गरेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, प्रादेशिक कार्यालयका प्रमुख रामविनय श्रेष्ठका अनुसार शैक्षिक सत्र २०८२ मा प्रदेशभरी १७ लाख ७६ हजार दुई ५७ थान पाठ्य पुस्तक बिक्री वितरण गर्ने लक्ष्य रहेको छ ।
कक्षा ३ देखि १० सम्मका सबै पाठ्यपुस्तक प्रदेशका सात पहाडी जिल्लामा बिक्रि वितरण भइसकेको उनले बताए । उनले केन्द्रबाट प्रदेशमा आवश्यक पर्ने पाठ्यपुस्तक सबै दुवानी भइसकेको बताए ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयको तथ्याङ्क अनुसार दार्चुलामा ८६ हजार थान, बैतडीमा एक लाख ८० हजार थान, बाजुरामा एक लाख आठ हजार थान पाठ्यपुस्तक ढुवानी भई सकेको छ ।
त्यसैगरी, अछामका लागि एक लाख ७४ हजार ९७२ थान, डोटीका लागि एक लाख ४० हजार थान, डडेल्धुराका लागि ९१ हजार थान र बझाङका लागि ७२ हजार पाँच सय ५० थान पाठ्यपुस्तक दुवानी भई सकेको छ, भने बाँकी रहेको जिल्ला कैलालीका लागि पाँच लाख २० हजार थान र कञ्चनपुरका लागि दुई लाख ४७ हजार छ सय २० थान पाठ्यपुस्तक ढुवानीका लागि तयारी अवस्थामा रहेको प्रादेशिक कार्यालयले जनाएको छ ।
प्रादेशिक प्रमुख श्रेष्ठका अनुसार कैलाली र कञ्चनपुरमा आजदेखि पाठ्यपुस्तक बिक्रि वितरण सुरु हुने छ । नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै प्रत्येक बालबालिकाको हात–हातमा पाठ्यपुस्तक पु¥याउने उदेश्यका साथ आफूहरुले बिक्रि वितरण गरिरहेको उनले बताए । प्रदेशका नौ वटै जिल्लाहरुमा चैत २९ गतेसम्म पाठ्यपुस्तक पुगिसक्ने उनको दाबी छ ।
नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, एक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएको प्रादेशिक कार्यालयले जनाएको छ । प्रादेशिक कार्यालयले कक्षा ११÷१२ सम्म प्रदेशमा १८ लाख १७ हजार थान पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरेको छ । प्रदेशमा सूचीकृत भएका एक सय ९४ व्यापारीहरू मार्फत प्रादेशिक कार्यालयले पाठ्यपुस्तक बिक्रि वितरण गरिरहेको छ ।
गत वर्ष १६ लाख ७८ हजार थान पाठ्यपुस्तक बिक्री गरेको प्रादेशिक कार्यालयले यो वर्ष १७ लाख ७६ हजार दुई सय ५७ थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रादेशिक प्रमुख श्रेष्ठका अनुसार गत वर्ष २२ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री भएको थियो । शैक्षिक सत्र २०८२ मा २५ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।