धनगढी पोष्ट बुधबार, ०३ बैशाख २०८२   April 16, 2025

सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

सुदूरपश्चिमको भाषा हरायो, भाषा हराए समाज विखण्डित हुन्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

देउडा समाज केन्द्रीय कार्यालयले प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजना गरेको देउवाखेल तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भाषा हराउँदै जानु चिन्ताको विषय भएको बताएका हुन् । उनले भाषा हराए समाज कमजोर र विखण्डित हुने समेत बताए ।

‘जुन समाजको भाषा लुप्त हुन्छ हराउँछ, त्यो समाज कमजोर हुन्छ । समाज विखण्डित हुन्छ भन्ने भनाइ छ,’ डडेल्धुरा गृहजिल्ला भएका पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हामीले आफ्नै भाषा बोल्न छाडेका छौं । हामी सबै नेपाली बोल्न थालेका छौं । अझ कतिले त आफ्ना छोराछोरीसँग नेपालीमा पनि होेइन, अंग्रेजीमा बोल्ने गरेका छन् ।’

देउवाले संसारभर भाषा बचाउने अभियान र संघर्ष चलिरहेको भन्दै आफ्नो भाषा बचाउन लाग्नु पर्ने बताए । ‘आफ्नो भाषा बचाउन संसारभर लडिरहेका छन्, हामीले पनि सुदूरपश्चिमको भाषालाई बचाउनुपर्छ । भाषा बचाउन सबैले योगदान गर्नुपर्नेछ ।’

उनले भाषासँगै सुदूरपश्चिमको संस्कृति जोगाउन पनि सबै लाग्नु पर्ने बताए । उनले १ वैशाखलाई विशु संक्रान्तिका रूपमा मनाउने गरिएको चर्चा पनि गरे ।