धनगढी पोष्ट
बुधबार, १० बैशाख २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय २६ दिनदेखि मन्त्री विहीन भएको छ । वनमन्त्री लक्ष्मण किशोर चौधरीले गत चैत १६ गते मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयले अझै विभागीय मन्त्री पाउन सकेको छैन । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कमलबहादुर शाहले अहिले आफुसँगै राखेका छन् ।
मुख्यमन्त्री शाहले गठबन्धन दल नागरिक उन्मुक्ति पार्टीले जति छिटो नाम आउँछ त्यति नै छिटो सपथ खुवाउने बताए । उन्मुक्ति पार्टी नाम पठाउने विषयमा छलफलमै रहेकाले छलफल टुंगिना साथ मन्त्रालयले मन्त्री पाउने उनले बताए ।
आर्थिक लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री चौधरी विवादमा तानिएका थिए । चौधरीले घटनामा छानबिनका लागि नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मन्त्री पदबाट राजीनामा दिँंदा चौधरीले सात महिना पुरानो अडियो सार्वजनिक गरेर विवादमा ल्याउन खोजिएको दाबी गरेका थिए । अडियोमा सार्वजनिक भएको विषयमा आफुले कुनै लेनदेन नगरेको तर वन सम्बन्धी अनुभव नभएका कारण छलफल मात्र गरेको दाबी मन्त्री चौधरीको थियो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार मन्त्री नभए पनि प्रशासननिक कामहरु भइनै रहेको छ । उनले भने, ‘मन्त्री ज्यु छिटै नै आउनु हुन्छ होला भन्ने आशा छ ।’ उनले कर्मचारीको तर्फबाट गर्ने कामहरु आफुहरुले गरिनै रहेको बताए ।
आफुहरुलाई नीति तथा कार्यक्रम लगायत बजेट सिलिङ आइसकेको बताए । अबको केही दिनमा मन्त्रालय मातहतका कार्यालयहरुलाई बजेट सिलिङहरु उपलब्ध गराइने उनले बताए ।
छिटै योजना तर्जुमा गोष्ठीहरु समेत गर्न तयारीमा रहेको उनको भनाइ छ । बुधवारदेखि नीति तथा कार्यक्रम बनाउनमा जुट्ने उनले बताए ।