धनगढी पोष्ट आइतबार, १४ बैशाख २०८२   April 27, 2025

कैलारीमा वैशाख १७ गतेदेखि ‘भजहर कप फुटबल’ प्रतियोगिता हुँदै

कैलारीमा वैशाख १७ गतेदेखि ‘भजहर कप फुटबल’ प्रतियोगिता हुँदै

धनगढी । कैलारी गाउँपालिका–८ लोहरपुरमा भजहर कप फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । युवा जनहित क्लवको आयोजनामा वैशाख १७ गतेदेखि २४ गतेसम्म आयोजना हुन लागेको हो ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै क्लवले फुटबल प्रतियोगिताको बारेमा जानकारी दिएको छ । थारु संस्कृति भजहर संरक्षण तथा खेलकुदको प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको क्लवका उपाध्यक्ष कालुप्रसाद चौधरीले बताए ।

उनले भने ‘हाम्रो थारु समुदायको भजहर संस्कृति पछिल्लो समय लोप हुँदै गएको छ । यसको संरक्षण गर्न आवश्यक छ । खेलकुदमा पनि युवालाई आकर्षण गर्न फुटबल प्रतियोगिता गर्न लागेका हौँ ।’

फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहने उनले बताए । प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख र उपविजेता टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने उनले बताए ।

क्लवले विगतका वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै उनले यो प्रतियोगिता पाँचौँ सस्करण भएको बताए ।
थारु समुदायले गाउँघरमा रोगव्याधि र खेतीपातीमा किराको प्रकोप नलागोस् भनेर भजहर पूजा गर्ने गरेका छन् ।