धनगढी पोष्ट
शनिबार, १३ बैशाख २०८२ मा प्रकाशित
धनगढी । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै १३ लाख ५१ हजार दुई सय १२ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।
जनक शिक्षाले हालसम्म बिक्री बितरण गरेको पुस्तक संख्या सुदूरपश्चिममा लक्ष्यको ७६ प्रतिशत हो । गत चैत १७ गतेदेखि वैशाख दोस्रो सातासम्म सुदूरपश्चिमका नौ जिल्लामा सो संख्यामा पाठ्यपुस्तक बिक्री वितरण गरेको हो ।
प्रादेशिक कार्यालय धनगढीले हालसम्म १८ करोड ४२ लाख ९८ हजार एक सय ३२ रुपैयाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख रामविनय श्रेष्ठका अनुसार यस प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि १७ लाख ७६ हजार दुई सय ५७ थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य रहेको थियो ।
चैत २९ गतेसम्म प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक बिक्रि वितरण गरी सक्ने लक्ष्य लिए पनि लक्ष्य अनुसार बिक्रि वितरण गर्न नसकिएको उनले बताए । उनका अनुसार कक्षा ३ देखि १० सम्मका सबै पाठ्यपुस्तक प्रदेशका सबै जिल्लामा बिक्रि वितरण भइसकेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीको तथ्याङ्क अनुसार बाजुरामा एक लाख १३ हजार ३२ थान पाठ्यपुस्तक बिक्रि वितरण भएको छ भने दार्चुलामा ९८ हजार तीन सय सात थान पाठ्यपुस्तक बिक्रि वितरण भएको छ ।
त्यसैगरी, बैतडीमा एक लाख ४६ हजार आठ सय २२ थान, बझाङमा एक लाख २६ हजार आठ सय २९ थान, अछाममा एक लाख २३ हजार आठ सय ८१ थान र डोटीका लागि एक लाख १७ हजार दुई सय ८० थान पाठ्यपुस्तक बिक्रि वितरण भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।
प्रादेशिक कार्यालयका अनुसार डडेल्धुरमा ८० हजार २१ थान, कञ्चनपुरमा एक लाख ७१ हजार आठ सय ६९ थान र कैलालीमा तीन लाख ७३ हजार एक सय ७१ थान पाठ्यपुस्तक बिक्रिवितरण भएको छ ।
प्रादेशिक प्रमुख श्रेष्ठले अहिले विद्यालय नै बन्द भएकाले गर्दा बिक्रेताबाट माग नआएकाले लक्ष्य अनुसार पाठ्यपुस्तक बिक्रि वितरण गर्न नसकिएको बताए । विद्यालयमा खुल्ना साथ आफुहरुलाई दिएको लक्ष्य अनुसार पाठ्यपुस्तक बिक्रि वितरण भइसक्ने उनको दाबी छ ।
उनका अनुसार शिक्षकहरुको आन्दोलनका कारणले गर्दा पनि पाठ्यपुस्तक बिक्रि वितरणमा असर परेको छ । उनले नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ का अर्थशास्त्र, एक्षिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन भएको बताए ।
प्रदेशमा सूचीकृत भएका एक सय ९४ व्यापारीहरू मार्फत प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक बिक्रि वितरण गरेको हो ।
गत वर्ष १६ लाख ७८ हजार थान पाठ्यपुस्तक बिक्री गरेकोमा यस वर्ष १७ लाख ७६ हजार दुई सय ५७ थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको छ ।
प्रादेशिक कार्यालयका अनुसार गतवर्ष २२ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री भएको थियो भने शैक्षिक सत्र २०८२ मा २५ करोड रुपैयाँ बराबरका पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको छ ।