धनगढी पोष्ट बुधबार, १७ बैशाख २०८२   April 30, 2025

सबैको एकै स्वर : सुदुरपश्चिमको बिकासमा हातेमालो गरौ

सबैको एकै स्वर : सुदुरपश्चिमको बिकासमा हातेमालो गरौ

बजेट निर्माणमा जुटेको सुदुरपश्चिम प्रदेश सरकारले केन्द्रीय राजधानी काठमाडौमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

आइतबार सुदुरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आ.ब. २०८२÷०८३ को संघीय बजेट र सुदुरपश्चिम प्रदेशका प्राथमिकताहरु बिषयक अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा तथा राष्ट्रीय सभाका सदस्यहरु, प्रदेश मन्त्रीहरु, माननीयहरु तथा विभिन्न क्षेत्रका बिज्ञहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कृषि क्षेत्र, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य, कनेक्टिभिटी (दुई देश बिच), कनेक्टिभिटी (अन्तर प्रदेशस्तरिय) जलविद्युत, खेलकुद, नदी नियन्त्रण तथा तटबन्धन, भन्सार नाका, औद्योगिक विकास, वन विकासका विषयमा छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना साकार गर्न आवश्यक रणनीतिहरु र सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि नेपाल सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सहभागीहरुले धाराणा राखेका थिए । कार्यक्रमका सहभागीहरुको सुदुरपश्चिमको हातेमालो गर्नुपर्नेमा जोड थियो । 

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले सुदुरपश्चिमको बिकासमा सबै हातेमालो गर्नुपर्ने बताइन् ।   उहाँले कृषि, पर्यटन, धार्मिक र साँस्कृतिक क्षेत्रसँग सँगै मानब बिकासलाई अगाडी बढाउनु पर्ने जोड दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले संविधानको मर्म र भावना अनुसार सुदूरपश्चिम प्रदेशको विकासका लागि नेपाल सरकारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण र समावेशी समन्यायिक प्रादेशिक सन्तुलन सहितको आर्थिक, सामाजिक र भौतिक विकासका क्षेत्रमा वजेट विनियोजन गर्नुपर्ने बताउनु भयो । “प्रदेशको बिकासको लागि संघ सरकारको भूमिका महत्वपूर्ण हुन्छ, मुख्यमन्त्री शाहले भन्नुभयो, सुदूरपश्चिम प्रदेशमा संचालित राष्ट्रिय गौरवका आयोजनाहरु र रुपान्तरणकारी आयोजनाहरुमा उच्च प्राथमिकता र बजेट विनियोजन संघ सरकारले गर्नुपर्दछ ।” आफुले यसअघिको भेटमा आगामी आर्थिक वर्षको बजेटमा सुदुरपश्चिमलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिसकेको मुख्यमन्त्री शाहले बताउनु भयो । मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीज्यु विशिष्ट अतिथि रहनुभएको थियो ।