धनगढी पोष्ट
मङ्गलबार, १६ बैशाख २०८२ मा प्रकाशित
धनगढी । नागरिक उन्मुक्ति पार्टीको भागमा परेको सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको ट्ंगो लाग्न सकेको छैन् । मन्त्रालयमा मन्त्री विहिन भएको मंगलवार एक महिना पुग्दा समेत मन्त्रीको टुंगो लाग्न नसकेको हो ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले भने,‘ दल भन्दा माथि पार्टी हुन्छ । हाम्रो मन्त्रीले राजिनामा दिसकेपछि पार्टीले दललाई एउटा किलिएर निर्णय दिन सकेको छैन हेर्नुहोस यो विषयमा ? किलिएर निर्णय नदिएसम्म मन्त्री पठाउन सकिने अवस्था छैन् । त्यस कारणले गर्दा म लाई लाग्छ २५ गते भन्दा यत्ता हुँदैन होला ।’
उनले वैशाख १७ गते पार्टी एकिकरण हुने भएकाले गर्दा २० गतेसम्म पार्टीकै कार्यक्रम भएकाले गर्दा त्यसपछि पार्टीले निर्णय गरिसकेपछि मन्त्रीको टुंगो लाग्ने बताए । उनले भने,‘मन्त्री पठाउने कुरामा सरसल्लाह गरेर पठाउछौँ । कुनै पनि विवाद नहुने गरेर पठाउछौँ । तर पार्टीको निर्णय किलिएर हुनु प¥यो यसमा पार्टी निर्णय किलिएर भएपछि पठाई हाल्छौँ ।’
उद्योग पर्यटन तथा वनमन्त्री लक्ष्मण किशोर चौधरीले गत चैत १६ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । आर्थिक लेनदेनको अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री चौधरी विवादमा तानिएका थिए । चौधरीले घटनामा छानबिनका लागि नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
मन्त्री पदबाट राजीनामा दिँंदा चौधरीले सात महिना पुरानो अडियो सार्वजनिक गरेर विवादमा ल्याउन खोजिएको दाबी गरेका थिए । अडियोमा सार्वजनिक भएको विषयमा आफुले कुनै लेनदेन नगरेको तर वन सम्बन्धी अनुभव नभएका कारण छलफल मात्र गरेको दाबी मन्त्री चौधरीको थियो ।
संसदीय दलका नेता चौधरीले मन्त्री टुंगो लगाउने विषयमा धेरै नै ढिलो भएको बताए । ‘हामी पनि सरकारमै छौँ । समर्थन दिएकै छौँ । तर मन्त्री खाएकै छैनौँ हो कि नाइ ? तर हामी पनि पार्टीलाई ढिलो भयो । के हो कसो हो । यो विषयमा कुरा राख्दै छु म पनि हो कि नाइ ? तर निर्णय आइसकेपछि तुरुतै गराई दिन्छु ।’
नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले पार्टीले मन्त्रीको नाम टुंगो लगाएर पार्टी अध्यक्षको जिम्मा लगाएको बताए । लुम्बिनी र सुदूरपश्चिमको मन्त्री संगै पठाउने निर्णय भएकाले गर्दा ठिलाई भएको उनले बताए ।
उनले भने,‘ मन्त्रीको नाम अध्यक्ष जि को जिम्मामा सांसदहरुले लिखित जिम्मा दिनु भएको छ । अध्यक्ष जि लाई अध्यक्ष जि ले जोलाई बनाएपनि मन्जुर छ हाम्रो भनेर । अनि उहाँले सुदूरपश्चिमलाई हेरेर गर्नु भन्नु भएको छ ।’ उनले वैशाखको १८÷१९ गतेसम्म मन्त्रालयले मन्त्री पाउने दाबी समेत गरे ।
उक्त मन्त्रालयको जिम्मेवारी अहिले मुख्यमन्त्री कमलबहादुर शाहले आफै सँग राखेका छन् । मुख्यमन्त्री शाहले नाम आउँना साथ मन्त्रीको सपथ खुवाउने बताए ।