धनगढी पोष्ट बुधबार, १७ बैशाख २०८२   April 30, 2025

रास्वपा सुदूरपश्चिमले तीन जिल्लामा  ‘जनयात्रा’ कार्यक्रम गर्ने

रास्वपा सुदूरपश्चिमले तीन जिल्लामा  ‘जनयात्रा’ कार्यक्रम गर्ने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सुदूरपश्चिम प्रदेशले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

नयाँ राजनीतिक कार्यदिशाको सुरुवात स्वरूप मङ्गलवार धनगढीमा प्रदेश सभापति ई. प्रकाश बिस्टको अध्यक्षता र प्रदेश इञ्चार्ज, केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुलालाई पहिलो चरणको अभियान क्षेत्रका रूपमा छनोट गरेको हो ।

रास्वपाका अनुसार लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो अभियानले ती जिल्लामा सशक्त उपस्थिति जनाउने छ र नागरिकसँग प्रत्यक्ष संवादमार्फत पार्टीको विचार आम नागरिकसम्म पुर्‍याउने विश्वास लिइएको छ ।

यसैगरी, संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित तहगत समितिको वार्षिक क्यालेन्डर निर्माण गरिने र कार्यकर्तालाई तालिममार्फत प्रशिक्षण दिइने निर्णय समेत बैठकले गरेको छ । संगठन सुदृढीकरण र सबलीकरणका लागि पहिलो चरणमा कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

रास्वपाले संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत पार्टीलाई जनतामाझ अझ विश्वसनीय र प्रभावशाली बनाउने रणनीति अघि सारेको जनाएको छ ।