धनगढी पोष्ट
बुधबार, १७ बैशाख २०८२ मा प्रकाशित
नेकपा एमालेको अछाम जिल्ला अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष सहितको पुरै कार्यसमिति निर्विरो चयन भएको हो ।
जिल्ला कमिटी अध्यक्षका लागि उपाध्यायसँगै निर्वतमान अध्यक्ष चन्द्र बोहरा र बम बीसी अन्तिम समयसम्म आकांक्षी थिए । बोहरा र बीसीले चुनावमार्फत टुंगो लगाउन निर्वाचन समिति र नेताहरुलाई घच्घच्याइरहेका थिए । तर अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत निर्वाचित भएका छन् । ८५ जना जिल्ला कमिटी सदस्य र सात जना लेखा समितिका पदाधिकारीहरुसमेत सर्वसम्मत निर्वाचित भएका छन् ।
एमाले अछामको अधिवेशन बैशाख १३ गतेबाट शुरु भएको थियो । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा, केन्द्रीय सदस्य यज्ञ बोगटी, कमल तिमिल्सिना, पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी र पशुपति कुँवर रहेको अध्यक्ष मण्डलले अध्यक्षमा उपाध्याय लगायत सबै पदाधिकारी र जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित गराएको हो ।