धनगढी पोष्ट शनिबार, २० बैशाख २०८२   May 3, 2025

पटक–पटक म्याद थप गर्दा समेत पुल निर्माण भएन्

पटक–पटक म्याद थप गर्दा समेत पुल निर्माण भएन्

धनगढी । मोहना पुल–अत्तरिया ६ लेन सडक खण्ड अन्तर्गतका तीन वटा निर्माणाधीन पुलको छ पटक म्याद थप गर्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।

उक्त सडक खण्ड अन्तरर्गत मोहना नदी पुल, सुनिखोला पुल र मनहरा खोलामा निर्माणाधीन पुलको निर्माण कार्य म्याद थप भित्र सम्पन्न हुन नसकेको हो । 

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दका अनुसार मनहरा पुलको दुई पटक, सुनिखोलाको तीन पटक र मोहना नदी पुलको एक पटक म्याद थप भएको छ । 

उनले म्याद थप गर्दा पनि मनहरा पुलको भौतिक प्रगति ५५ प्रतिशत, सुनिखोलाको ९० प्रतिशत र मोहना नदी पुलको ५५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । 

उच्चा कोटी÷शनि देव÷शाजेन्द्र श्वर जेभीले मनहरा खोला पुलको ७८ करोड तीन लाख ३२ हजार रुपैयाँमा ं२०७८ असोजदेखि २०८० भदौ मसान्तसम्म पुल निर्माणको ठेक्का सम्झौता भएको थियो, भने उक्त म्याद भित्र पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा २०८२ भदौ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको छ । 

यसैगरी, मोहना नदी पुलको रायमाझी कन्स्ट्रक्सन प्रालिलाई २०७८ असोजदेखि २०७९ फागुनसम्ममा पुल निर्माणका लागि १३ करोड १७ लाख ६३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा उक्त म्याद भित्र पुल निर्माण हुन नसक्दा २०८२ वैशाख मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी एक पटक म्याद थप गरी म्याद थप भएको छ  । 

यस्तै, सुनिखोला पुलको राजेन्द्र निर्माण सेवालाई २०७७ चैत मसान्तदेखि २०७९ असोज मसान्तसम्ममा ३३ करोड सात लाख ८९ हजार रुपैयाँमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो भने उक्त म्याद भित्र पुल निर्माण कार्य सम्पन्न हुन नसक्दा २०८२ असार मसान्तसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी म्याद थप भएको छ । 

इन्जिनियर चन्दले बजेट अभाव, कं्रसर उद्योगहरु बन्द लगायत ठेक्काहरुमा मुल्यवृद्धिले गर्दा म्याद थप भित्र भौतिक प्रगति कम देखिएको बताए । उनले मनहरा खोलाको पुलको डिजाइ संशोधनका साथै बजेट अभावले गर्दा ढिलाइ भएको बताए ।

मोहना नदीमा सुरुवातमै स्थानीय विवादले गर्दा सम्झौताको एक वर्षपछि काम सुरु हुँदा ढिलाइ भएको उनको भनाइ छ । 

उनका अनुसार सुनिखोलाको थप म्याद भित्रै काम सम्पन्न हुनेछ, भने मोहना नदीको फेरी म्याद थप गर्नुपर्ने देखिएको छ । मनहरा खोलाको म्याद अवद्यि भित्रै काम सम्पन्न हुने उनले दाबी गरे । 

बजेट थपका लागि फागुनमै विभागमा फाइल पेश गरेको भए पनि अहिलेसम्म बजेट नआएको उनले बताए । विभागमा बजेटका लागि पत्रचार गरेको गरै गर्दा पनि अहिलेसम्म बजेट नआएको उनको भनाइ छ ।