धनगढी पोष्ट मङ्गलबार, २३ बैशाख २०८२   May 6, 2025
आजदेखि कक्षा १२ को परीक्षा सुरु

सुदूरपश्चिममा ४९ हजार ९७५ विद्यार्थी परीक्षामा सहभागी

सुदूरपश्चिममा ४९ हजार ९७५ विद्यार्थी परीक्षामा सहभागी

धनगढी । आज (आइतबार) देखि सुरु हुने कक्षा १२ को परीक्षामा सुदूरपश्चिमबाट ४९ हजार नौ सय ७५ जना विद्यार्थी सहभागी भएका छन् । शिक्षक आन्दोलनका कारण वैशाख ११ मा निर्धारित परीक्षा आइतबारदेखि सुरु भएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका कार्यालय प्रमुख नारायणदत्त भट्टका अनुसार प्रदेशमा नियमित तर्फ ३६ हजार चार सय ११ विद्यार्थी र आंशिक (ग्रेड वृद्धि) तर्फ १४ हजार तीन सय ८७ विद्यार्थी रहेका छन् ।

उनले प्रदेशभरी एक सय ५६ वटा परीक्षा केन्द्र तोकिएको बताए । 
प्रदेशमा सबै भन्दा बढी विद्यार्थी संख्या र परीक्षाकेन्द्र कैलालीमा छन् भने सबै भन्दा कम डोटीमा विद्यार्थी संख्या र परीक्षाकेन्द्र रहेका छन् । 

बोर्डका कार्यालय प्रमुख भट्टका अनुसार कैलालीमा नियमित तर्फ १३ हजार छ सय एक विद्यार्थी छन् भने आंशिकतर्फ छ हजार तीन सय १४ विद्यार्थी छन् । जम्मा  १९ हजार नौ सय १५ विद्यार्थीका लागि ४७ परीक्षाकेन्द्र तोकिएका छन् । 

उनले डोटीमा नियमिततर्फ एक हजार आठ सय ४२ र आंशिकतर्फ चार सय ५६ विद्यार्थी गरेर दुई हजार दुई सय ९८ विद्यार्थीका लागि आठ वटा परीक्षा केन्द्र तोकिएको बताए । 

उनका अनुसार कञ्चनपुरमा नियमिततर्फ छ हजार नौ सय ३१ विद्यार्थी छन्  भने आंशिकतर्फ तीन हजार ५२ विद्यार्थी रहेका छन् । जम्मा  नौ हजार नौ सय ८८ विद्यार्थीका लागि २६ वटा परीक्षाकेन्द्र रहेका छन् । 

यसैगरी, डडेल्धुरामा नियमिततर्फ एक हजार पाँच सय ९० र आंशिकतर्फ एक हजार ५० विद्यार्थी रहेका छन् । जम्मा  दुई हजार छ सय ४० विद्यार्थीका लागि ११ वटा परीक्षाकेन्द्र तोकिएको उनले बताए । 

उनले बाजुरामा नियमित तर्फ एक हजार सात सय ८२ र आंशिकतर्फ सात सय चार विद्यार्थी गरि जम्मा  दुई हजार चार सय ८६ विद्यार्थी रहेका छन् । बाजुरमा  आठ वटा परीक्षाकेन्द्र छन् । 

उनका अनुसार बैतडीमा नियमिततर्फ तीन हजार दुई सय ९७  र आंशिकतर्फ नौ सय ७१ विद्यार्थी गरेर जम्मा चार हजार दुई सय ६८ विद्यार्थी रहेका छन् । बैतडीमा  १८ वटा परीक्षाकेन्द्र तोकिएका छन् । 

यस्तै, उनले बझाङमा नियमिततर्फ दुई हजार आठ सय ३८ र आंशिकतर्फ चार सय ७३ विद्यार्थी गरि जम्मा दुई हजार चार सय ८६ विद्यार्थी रहेका छन् । बझाङमाा आठ वटा परीक्षाकेन्द्र तोकिएको  उनले बताए । 

अछाममा नियमिततर्फ दुई हजार सात सय २१  र आंशिकतर्फ छ सय ८३ विद्यार्थी  छन् । जम्मा तीन हजार चार सय चार विद्यार्थीका लागि  १७ वटा परीक्षाकेन्द्र तोकिएको उनले बताए । 

उनका अनुसार दार्चुलामा एक हजार आठ सय नौ विद्यार्थी र आंशिकतर्फ छ सय ८४ विद्यार्थी छन् ।जम्मा दुई हजार चार सय ९३ विद्यार्थीका लागि १३ वटा परीक्षाकेन्द्र तोकिएका छन् । 

बोर्डका कार्यालय प्रमुख भट्टले सबै परीक्षाकेन्द्रमा उत्तरपुस्तिका लगायत केन्द्रमा चाहिने सामग्रीहरु पुगिसकेको बताए । उनले परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने बताए । 

परीक्षा बिहान ८ बजेबाट सुरु भएर ११ बजे सकिनेछ, भने जेठ २ गतेसम्म परीक्षा सञ्चालन हुने तालिका रहेको छ ।