धनगढी पोष्ट
बिहिबार, २५ बैशाख २०८२ मा प्रकाशित
धनगढी । धनगढी उपमहानगरपालिकामा सञ्चालित महाप्रस्थान यानले दुई हजार नौ सय २६ वटा महाप्रस्थान सेवा गरेको छ । २०७८ असार २५ गतेदेखि २०८१ वैशाख चौथो सातासम्म सो संख्यामा धनगढी बासीका लागि महाप्रस्थान सेवा गरेको हो ।
महाप्रस्थान यानका सम्पर्क व्यक्ति सुरेन्द्रप्रसाद भट्टले महाप्रस्थान यानले धनगढीका १९ वटा वडाहरूमा सेवा दिइरहेको बताए । उनले दिनमा तीन÷चार जनालाई सेवा दिइरहेको बताए । कहिले काहीँ सँगै फोन आउँदा कतिपयलाई सेवा दिन नसकिरहेको उनले बताए ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल लगायत उनका भाइहरू श्याम हमाल र देवेन्द्र हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका हुन् । मृत्युपछि आर्यघाटसम्मको यात्रा सहज होस् भन्ने उद्देश्यका साथ उनीहरूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका थिए ।
महाप्रस्थान यान घरदेखि घाटसम्म निःशुल्क सञ्चालन गरिएको छ भने चालक खर्च, इन्धन खर्च सबै उनीहरूले आफैँले व्यहोरी रहेका छन् । उनीहरूले ३० लाख लगानीमा महाप्रस्थान यान सञ्चालन गरेका हुन् ।
महाप्रस्थान यान सञ्चालनमा आएसँगै नगरबासिहरुलाई सहज भएको छ ।
महाप्रस्थान यान सञ्चालनमा आउँदा निकै नै सहज भएको धनगढी उपमानरपालिका वडा नम्बर ५ हसनपुरका स्थानीय महेन्द्रराज पन्तले बताए ।
‘मृत्युपछि मान्छेलाई घाटसम्म लैजानको लागि जसको दिमागमा ठ्याकै पहिलै सम्झिहाल्छ महाप्रस्थानमा कुरा गर्नुपर्छ भने र परिवारको सबै जना घाटसम्म यात्रा गर्न पाइएको छ । यो राम्रो काम गर्नु भएको छ,’ उनले भने ।
शवलाई घरबाट मात्रै नभई अस्पतालबाट पनि शवलाई घाटसम्म लैजाने व्यवस्था भएको भए अझै राम्रो हुने उनको भनाई छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशाल नगरका स्थानीय लोकबहादुर गिरीले महाप्रस्थान यानले गर्दा शवलाई टाढा–टाढासम्मको आर्यघाटमा लैजानको लागि सहज भएको बताए ।
महाप्रस्थान यान नहुँदा निजी सवारी साधनमा शवलाई असहज हिसाबले आर्यघाटसम्म लैजानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए ।
महाप्रस्थान यानले गर्दा शवलाई राम्रो सँग राखेर आर्यघाट सम्म लैजान सकिने सँगै उनले कियापुत्रिहरुले पनि आर्यघाटसम्म सहजै जान सक्ने व्यवस्था रहेको उनको भनाइ छ ।
मृत्युपछि मानिसले सम्मानसहित जाने व्यवस्था मिलाउनका लागि निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको नगरप्रमुख हमालले बताए । नगरप्रमुख हमालले पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान यानको व्यवस्था गरिएको बताए ।
यानभित्र पार्थिव शरीर र छ जना किरिया पुत्री बस्न मिल्ने छुट्टाछुट्टै क्याबिन छ । साथै यानको अगाडिको भागमा फूल मालासहित मृतकको फोटो राख्न सकिन्छ ।
यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कर्णाली र कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन भइरहेको छ ।