धनगढी पोष्ट शुक्रबार, २६ बैशाख २०८२   May 9, 2025
धनगढीमा ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’

एक लाख २७ हजार बढीले लिए सेवा

एक लाख २७ हजार बढीले लिए सेवा

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ बाट तीन वर्षमा एक लाख २७ हजार आठ सय ८३ जना बिरामीले सेवा लिएका छन् ।

उपमहानगरपालिकाले सुरु गरेको आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्ममा सो सेवाबाट उनीहरुले सेवा लिएका हुन् । 

उपमहानगरपालिका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक कृष्णबहादुर बोहराका अनुसार महिला ९८ हजार पाँच सय सात जना र पुरुष २९ हजार चार सय २१ जना बिरामीले सेवा लिएका छन् ।

उनले ११ हजार तीन सय ४३ जना बिरामीहरुलाई रेफर गरिएको बताए । जसमध्य सात हजार नौ सय ५० जना महिला र तीन हजार चार सय तीन जना पुरुष बिरामी रहेका छन् । 

उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को चैत मसान्तसम्ममा ३५ हजार छ सय ३० जना बिरामीले सेवा लिएका छन् भने जसमध्य १९ हजार आठ सय ५५ जना बिरामी नयाँ सेवाग्राही र १५ हजार सात सय ७५ जना बिरामी पुनःचेकजाँचका लागि आएका थिए । जसमध्य दुई हजार एक सय ७६ जना बिरामीलाई रेफर गरिएको थियो । 

आर्थिक वर्ष २०८०÷०८१ मा ४६ हजार पाँच सय ६४ जना बिरामीले सेवा लिएकोमा २८ हजार आठ सय ३९ जना नयाँ सेवाग्राही र १७ हजार सात सय २५ जना बिरामी पुनःचेकजाँचका लागि आएको उनले बताए । जसमध्य चार हजार चार सय ११ जना बिरामीलाई रेफर गरिएको थियो ।

उनले सुरुवाती वर्ष २०७९÷०८० मा ४५ हजार छ सय ८९ जना बिरामीले सेवा लिएकोमा ४५ हजार दुई सय २० जना नयाँ सेवाग्राही र चार सय ६९ जना बिरामी पुनःचेकजाँचका लागि आएको बताए । जसमध्य चार हजार सात सय ५१ जना बिरामीलाई रेफर गरिएको थियो । 

संयोजक बोहराले भने, ‘क्लिनिकमा चेकजाँच गर्न आउने बिरामीको आकर्षण बढेको छ । विशेषज्ञ वडास्वास्थ्य क्लिनिकमा नसर्ने रोग, गर्भवती जाँच, महिलाको पाठेघरको चेकजाँच, डाइबिटिज, क्यान्सर स्क्रिनिङ, आँखा, दाँत, हाडजोर्नी, फिजिसियन तथा स्त्री रोग सम्बन्धी सेवा निःशुल्क चेकजाँच र उपचार गरिने गरेको छ ।’

इसिजी, सुगर, पिसाब, रगत, एचआईभीलगायत विभिन्न प्रयोगशाला जाँच निःशुल्क गरिने उनले बताए । उनले गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्डको सुविधा पनि क्लिनिकमा उपलब्ध हुने बताए ।  

उनका अनुसार क्लिनिकमा चेकजाँच गरेका बिरामीलाई रेफर गर्नु परेमा आँखाका बिरामीलाई गेटा आँखा अस्पताल र अप्रेसन गर्नुपर्ने बिरामीलाई सेती प्रादेशिक अस्पतालमा रेफर गरिन्छ ।

ग्रामीण क्षेत्रहरुमा क्लिनिक सञ्चालन गर्दा तीन÷चार सय बिरामी आउने गरेपनि सहरी क्षेत्रमा एक सय जति बिरामीहरु आउने गरेको उनको भनाइ छ । उनले क्लिनिकमा नसर्ने रोगका बिरामीहरु बढी आउने गरेको बताए  । 

‘निजी अस्पतालमा उपचार गराउन नसक्ने र सरकारी अस्पतालमै पनि आउन नसक्ने विपन्नलाई लक्षित गरेर वडा क्लिनिक सुरु गरेका थियौँ,’ उनले भने, ‘यसले नागरिकलाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुगेको छ ।’
उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क विशेषज्ञ वडास्वास्थ्य क्लिनिक सञ्चालन हुने गरेकोे छ । आर्थिक अभावले उपचार गराउन नसक्ने विपन्न नागरिकलाई घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार सेवा दिने उद्देश्यले धनगढी उपमहानगरपालिकाले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सुरु गरेको हो ।