धनगढी पोष्ट
मङ्गलबार, ३० बैशाख २०८२ मा प्रकाशित
काठमाडौँ । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता अनिश्चित भएको छ । पार्टी एकता घोषणा तय गरेकै दिन यही वैशाख १७ मा नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेपछि स्थगित भएको एकता प्रक्रिया अनिश्चित बनेको हो ।
त्यसयता जनमत अध्यक्ष सीके राउत र उन्मुक्ति संरक्षक चौधरीबीच पार्टी एकताको विषयमा संवादसमेत भएको छैन ।
जनमतका नेता गम्भीर नभएकाले पार्टी एकता अनिश्चित बनेको उन्मुक्तिका नेताहरूले आरोप लगाएका छन् ।
वैशाख १७ को बेलुका चौधरी थुनामुक्त भएपछि जनमत र उन्मुक्ति नेतृत्वबीच एकताको सहमतिपत्रमा हस्ताक्षरको प्रयास भएको थियो ।
उन्मुक्तिका नेताहरूका अनुसार जनमतका नेताले ‘एकता गर्न हतार नगरौं’ भनेकाले स्थगित भएको थियो ।
दुई पार्टीको कार्यदलबीच पदाधिकारी र केन्द्रीय कार्यसमितिको जिम्मेवारी बाँडफाँट टुंग्याउन बाँकी राखेर एकता घोषणा गर्ने तयारी हुँदै थियो ।
जनमतका अध्यक्ष राउतले चौधरी पक्राउ प्रकरणको समीक्षा भइरहेको उल्लेख गर्दै एकताका लागि अझै गृहकार्य गर्नुपर्ने बताए ।