धनगढी पोष्ट बुधबार, ३१ बैशाख २०८२   May 14, 2025

कैलालीमा साढे ६० हजार राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण

कैलालीमा साढे ६० हजार राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले डेढ महिनाको अवधिमा पालिकाहरूमा ६० हजार सात सय ७३ वटा राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण गरेको छ । प्रशासनले २०८१ चैत ४ गतेदेखि २०८२ वैशाख २८ गतेसम्म जिल्लाका स्थानीय तहमा कार्ड वितरण गरेको हो । 

प्रशासनले चैत ४ गतदेखि टोली नै खटाएर स्थानीय तहहरूमा कार्ड वितरण अभियान चलाइरहँदा हालसम्म २० प्रतिशत कार्ड वितरण भइसकेको छ । 

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले सेवाग्राहीहरू कार्ड लिन नआउँदा कार्ड वितरणको संख्या न्यून रहेको बताए । उनले केही सेवाग्राहीहरू रोजगारीको सिलसिलामा बाहिर गएकाले पनि अपेक्षाकृत कार्ड वितरण गर्न नसकिएको बताए ।

उनका अनुसार जुन गतिमा कार्ड वितरण गर्नुपर्ने थियो, त्यो गतिमा कार्ड वितरण हुन सकेको छैन । 

प्रशासनले जिल्लाभरिकै पालिकाहरूमा तीन लाख नौ हजार चार सय ८४ कार्ड वितरण गर्ने लक्ष्य लिएको छ । स्थानीय तहका प्रत्येक वडाहरूमा १०÷१० दिनसम्म कार्ड वितरण भइरहेको छ । 

सूचना अधिकारी जोशीका अनुसार जिल्लाका १२ वटा स्थानीय तहमा कार्ड वितरणको काम भइरहेको छ । टिकापुर नगरपालिकाको कार्ड विभागबाट आफूहरूलाई प्राप्त भइसकेको र बुधवारदेखि कार्ड वितरण कार्य सुरु हुने उनले बताए । 

प्रशासनले तीन वर्ष पहिले वडा÷वडामा गएर टोली मार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरेकाहरूको कार्ड बनेर प्रशासनमा प्राप्त भएकाहरूको टोली खटाएर वितरण अभियान अगाडि बढाइएको हो । 
जिल्ला भरमा सबै भन्दा बढी कार्ड वितरण धनगढी उपमहानगरपालिका र सबै भन्दा कम कार्ड वितरण मोहन्याल गाउँपालिकामा भएको छ । 

उनका अनुसार धनगढी उपमहानगरपालिकामा ५३ हजार एक सय ९४ कार्ड रहेकोमा पाँच हजार चार सय २१ कार्ड वितरण गरिएको छ, भने मोहन्याल गाउँपालिकामा पाँच हजार दुई सय ५० कार्ड रहेकोमा दुई हजार एक सय ४४ कार्ड वितरण गरिएको छ । मोहन्यालमा कार्ड वितरणका लागि केही दिन ढिलो गरी टोली खटाइएकाले कार्ड वितरण कार्यमा ढिलाइ भएको प्रशासनले जनाएको छ । 

गोदावरी नगरपालिकामा ३७ हजार पाँच सय ५१ कार्ड रहेकोमा छ हजार छ सय ९९ कार्ड वितरण भएको छ, भने गौरीगंगा नगरपालिकामा २७ हजार दुई सय ५० कार्ड रहेकोमा पाँच हजार एक सय एक कार्ड वितरण भएको छ । 

उनका अनुसार घोडाघोडी नगरपालिकामा ३६ हजार एक सय ६० कार्ड रहेकोमा चार हजार छ सय ६९ कार्ड वितरण भएको छ । लम्की चुहा नगरपालिकामा ३२ हजार सात सय ६५ कार्ड रहेकोमा छ हजार तीन सय १९ कार्ड वितरण भएको छ । 

उनले भजनी नगरपालिकामा २७ हजार ८० कार्ड रहेकोमा छ हजार सात सय १५ कार्ड वितरण भएको छ, भने कैलारी गाउँपालिकामा २७ हजार तीन सय ७६ कार्ड रहेकोमा छ हजार एक सय ४० कार्ड वितरण भएको बताए । 

उनका अनुसार चुरे गाउँपालिकामा छ हजार चार सय ४४ कार्ड रहेकोमा चार हजार चार सय ३७ कार्ड वितरण भएको छ, भने बर्दगोरिया गाउँपालिकामा १४ हजार एक सय ४१ कार्ड रहेकोमा तीन हजार चार सय ५२ कार्य वितरण भएको छ । 

जानकी गाउँपालिकामा २४ हजार सात सय ७३ कार्ड रहेकोमा तीन हजार छ सय ५९ कार्ड वितरण भएको छ, भने जोशीपुरमा १७ हजार पाँच सय कार्ड रहेकोमा छ हजार १७ कार्ड वितरण भएको उनले बताए । 

अभियान अवधिमा परिचयपत्र नबुझेकाहरूको कार्ड जिल्ला प्रशासन कार्यालयमै राखिनेछ । त्यसपछि सम्बन्धित व्यक्तिले प्रशासन कार्यालयमै पुगेर परिचय पत्र लिनु पर्ने प्रशासनले जनाएको छ ।