धनगढी पोष्ट
बुधबार, ३१ बैशाख २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा सात वर्षमा सामाजिक अपराधका घटना चार हजार नौ सय २४ वटा भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५÷०७६ देखि चालु आर्थिक वर्ष २०८१ ÷०८२ को चैत्र मसान्तसम्म प्रदेशका नौ वटा जिल्लामा उक्त घटना भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को नौ महिनामा चार सय ६८ वटा सामाजिक अपराधका घटनाका मुद्दा प्रहरीमा दर्ता भएका छन् भने आर्थिक वर्ष २०८०÷०८१ मा सात सय १४ वटा मुद्दा दर्ता भएका छन् ।
प्रदेशमा सामाजिक अपराध सम्बन्धी सार्वजनिक शान्ति विरुद्दको कसुर, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिक बिरुद्धको कसुर, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसुर, नागरिकता सम्बन्धी, कुटपिट वा अंगभंग सम्बन्धी कसुर, धर्म सम्बन्धी कसुर, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर र जातिय छुवाछुत तथा भेदभाव सम्बन्धी कसुरका घटना प्रदेशमा बढी जस्तो हुने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक मल्लका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा सात सय ९९ वटा मुद्दा दर्ता भएकामा २०७८÷०७९ मा सात सय ९५ वटा र २०७७÷०७८ मा छ सय २९ वटा मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६÷०७७ आठ सय ६८ वटा मुद्दा दर्ता र २०७५÷०७६ मा छ सय ५१ वटा मुद्दा दर्ता भएको उनले बताए ।
प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक मल्लले घरायसी विवाद, झै–झण्डा लगायतका सामाजिक क्रियाकलापका घटनाहरु बढी हुने गरेको बताए ।
मादकपदार्थ दुव्यसनी र लागुऔषधका कारणले गर्दा पनि समाजमा विकृतिका घटनाहरु बढी हुने उनले बताए ।
सामाजिक घटनाहरुलाई न्यूनिकरण गर्नका लागि आफूहरुले समाजमा जनचेता मुलक कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।
अधिवक्ता गम्भिरसिंह ऐरले समाजमा सामाजिक मूल्य मान्यता लगायत प्ररम्परा रितीरिवालाई विर्सिदै गएका कारणले गर्दा पनि सामाजिक अपराधका घटनामा वृद्धि हुँदै गएको बताए ।
उनले बढ्दो जनसंख्याका कारणले गर्दा पनि अपराधिक घटनाहरु बढ्दै जान थालेको बताए । कानुनको कार्यान्वयन नहुँदा पनि सामाजिक घटनाहरु हुने गरेको उनको भनाइ छ ।