धनगढी पोष्ट
आइतबार, ०४ जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलाली–कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ को मिलनचोक, ट्राफिक चौराहा, राष्ट्रिय परीक्षा बोर्ड नजिक तथा मनेहरा क्षेत्रबाट प्रहरीले अन्दाजी ५८ हजार आठ सय बराबरको चिनी, मिश्री, मिठाई, पास्ता, बिडी, सुर्ती लगायतका सामग्रीहरू फेला पारी नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी टोलीको गस्तीका क्रममा ती सामानहरू बेवारिसे अवस्थामा फेला परेका थिए।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव र बेलडाँडी गाउँपालिका–३ वैवाहबाट अन्दाजी ४६ हजार नौँ सय बराबरको खेलौना, गहुँ, हाडवेयर सामग्री, किराना लगायतका वस्तुहरू बरामद गरिएको छ।
यी सामान प्रहरीको गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ। बरामद गरिएको सामग्री आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।