धनगढी पोष्ट
मङ्गलबार, ०६ जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छलीगरी ल्याइएका करिब साढे ३ लाख रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी टोलीहरूले कैलालीका धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोक, उपमहानगरपालिका–१९ लल्लीपुरघाट र भजनी नगरपालिका–३ छल्का पुल क्षेत्रबाट भन्सार छलि ल्याइएका विभिन्न खाद्य तथा लत्ताकपडालगायतका सामानहरू बरामद गरेका हुन्।
बरामद गरिएका सामानहरूमा चिनी, मिश्री, मटरदाना, नरिवल, डाल्डा, प्याज, खुर्सानी, सिप्सी, पेठा मिठाई, पास्ता, सिद्रा माछा, बिडी, सुर्ती, गुट्खा, टप्स, कट्टु, कुर्ती सेट, सुट, साबुन लगायतका दैनिक उपभोग्य वस्तुहरू छन्।
यी वस्तुको अनुमानित मूल्य एक लाख ९३ हजार ७३० रहेको प्रहरीले जनाएको छ। यी सबै सामानहरू चार वटा साइकलसहित बेवारिसे अवस्थामा फेला परेका थिए।
यस्तै, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–८ कलकत्ता क्षेत्रमा खटिएको प्रहरी टोलीले पनि भन्सार छली ल्याइएका हार्डवेयर, कपडा र किराना सामानहरू बरामद गरेको छ। ती वस्तुको अनुमानित मूल्य एक लाख २३ हजार ८०० रहेको प्रहरीले जनाएको छ।