धनगढी पोष्ट
बुधबार, ०७ जेठ २०८२ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलाको उद्धार गर्न सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले बुधवार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन ।
प्रहरी जवान चन्द्रिकाले सुत्केरी व्यथा लागेकी गोदावरी नगरपालिका – १ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यको उद्धारका गर्न सघाएकी थिइन ।
सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै अलपत्र अवस्थामा परेकी चन्द्रालाई उद्धार गर्न सहयोग गरेको भन्दै प्रहरीले उनलाई सम्मान गरेको हो ।
बाटोमै बच्चा जन्माएकी चन्द्रालाई पदमा अस्पतालबाट गएको चिकित्सक सहितको एम्बुलेन्सले पछि अस्पताल ल्याएको थियो ।