धनगढी पोष्ट शुक्रबार, ०९ जेठ २०८२   May 23, 2025

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार सुनचाँदीका गहना र ६५ हजार रुपैयाँ चोरी भएको हो । 

‘घरको ग्रिल तोडेर घरमा राखिएको गहना चोरी गरिएको छ,’ इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले भने, ‘घरमा कोही नभएका बेला चोरी भएको भन्दै राज्यमन्त्रीज्यूकी दिदीले निवेदन दिनु भएको छ ।’

प्रहरीका अनुसार राज्यमन्त्री चौधरीको घरमा वैशाखदेखि कोही पनि थिएनन् । बर्दगोरिया गाउँपालिका–५ घर भएकी राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारी चौधरीले बुधबार आफू सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् ।

प्रहरीका अनुसार झण्डै २० लाख मूल्य पर्ने सुन र चाँदीका गहना चोरी भएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता हुन् ।