धनगढी पोष्ट
शनिबार, १० जेठ २०८२ मा प्रकाशित
बैतडी । बैतडीमा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त रमेश बोहराले जानकारी दिए ।
भीरबाट झन्डै डेढ सय मिटर तल खसेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।