धनगढी पोष्ट
आइतबार, ११ जेठ २०८२ मा प्रकाशित
धनगढी । स्थापना भएको अत्तरियामा जग्गा प्राप्त गर्न नसकेपछि दुग्ध बिकास संस्थानको दुग्ध विकास आयोजना धनगढीको दुग्ध प्रशोधन केन्द्र धनगढीमा सर्ने भएको छ ।
पटक पटक गोदावरी नगरपालिकालाई आग्रह गर्दा पनि जग्गाको व्यवस्था नभएपछि धनगढी सर्नु परेको दुग्ध बिकास आयोजनाले जनाएको छ । तर गोदावरी नगरपालिकाका नगर प्रमुख बीरेन्द्र भट्टले जग्गा व्यवस्थाका लागि आफुलाई आग्रह नै नगरिएको बताएका छन् ।
स्थानीय वासिन्दाले अत्तरियाबाट दुग्ध बिकास आयोजनाको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै आयोजनाको कार्यालयमा ताला लगाएका छन् । लामो समयदेखि गोदावरी नगरपालिकासँग जग्गाका लागि आग्रह गरे पनि नगरपालिकाले जग्गा उपयुक्त जग्गा उपलव्ध गराउन नसकेपछि जग्गा पाएको धनगढी उमहानगरपालिकामा सर्नु पर्ने अवस्था आएको धनगढी दुग्ध विकास आयोजनाका आयोजना प्रमुख निरन्जन भट्टराईले बताए ।
‘हाल आयोजना रहेको स्थानमा स्थायी संरचना बनाउन ठाउको अभाव रहेको छ । त्यसैले २०८० फागुन २ गते गोदावरी नगरपालिकालाई जग्गा उपलव्ध गराइ दिन लिखित रुपमा आग्रह गरेका थियौं । पटक पटक मौखिक रुपमा पनि आग्रह गरयौं ।’ आयोजना प्रमुख भट्टराईले ‘तर गोदावरीमा जग्गा उपलव्ध नभएपछि धनगढीमा कोशिश गर्दा पाइएकोले सर्नु पर्ने अवस्था आएको हो ।’
तर गोदावरी नगरपालिकाका नगर प्रमुख बीरेन्द्र भट्ट दुग्ध विकास आयोजनाको जग्गा उपलव्ध गराउन नगरपालिकालाई आग्रह नै नगरिएको बताउँछन् । ‘नगरपालिकालाई जग्गा उपलव्ध गराईदिन दुग्ध विकास संस्थानबाट. कहिल्यै आग्रह नै गरिएन ।’ मेयर भट्ट भन्छन् ‘मैले गत माघमा मात्र दुग्ध विकास संस्थान अन्यत्र सर्न लागेको जानकारी पाएपछि बोलाएको छलफल गरेको हुँ ।’
मेयर भट्ट आफुले जानकारी पाएपछि गत माघमा आयोजना प्रमुखलाई नै बोलाएर छलफल गरेको र वडा नम्बर १ को कार्यालय परिसरमा रहेको जग्गा दिने निर्णय गरेको बताउँछन् ।
आयोजना प्रमुख निरन्जन भट्टराई आफुहरुले लिखित रुपमा र मौखिक रुपमा आग्रह गरेको लामो समयसम्म वन क्षेत्रको देखाएको, बन क्षेत्रको जग्गा लिन नसकिने भएको बताउँछन् । गोदावरी नगरपालिकालाई आग्रह गरेको एक बर्षसम्म पनि जग्गा नपाएपछि धनगढीको कनरीमा जग्गा पाएर सहमति भैसकेपछि मात्र माघमा गोदावरी नगरपालिकाले बोलाएर छलफल गरेको बताउँछन् ।
आयोजना प्रमुख भट्टराईका अनुसार धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५ मा रहेको जडीबुटी प्रशोधनका लागि निर्मित भवन तथा एक बिगाह तीन कट्ठा जग्गा दुग्ध बिकास संस्थानलाई उपलव्ध गराएको छ । सो स्थानमा दुग्ध विकास संस्थानको कारखाना निर्माण गर्दा भौतिक संरचना निर्माण गर्नु नपर्ने र कारखानाको भौतिक संरचना बिस्तार गर्दा पनि सहज हुने भट्टराईले बताए ।
गोदावरी नगरपालिकाको अत्तरियामा २०६७ सालमा दुग्ध बिकास संस्थानले धनगढी दुग्ध विकास आयोजना शुरु गरेको थियो । तरकारी तथा फलफुल बजार समितिको स्वामित्वमा रहेको तरकारी तथा फलफुलको थोकबजारमा मासिक भाडा तिरेर आयोजनाले कार्यालय, स्टोर, दुग्ध कारखाना, कोल्डस्टोर संचालन गरिरहेको छ । उक्त स्थानमा ठाउको अभावले दुध बोक्ने ट्यांकर समेत बाहिर नै राख्नु पर्ने अवस्था छ ।
आयोजना प्रमुख भट्टराईका अनुसार गोदावरी र कृष्णपुर दुवैनगरपालिकाले आयोजनाका लागि जग्गा देखाएका थिए । तर नगरपालिकाहरुले देखाएका जग्गा वन क्षेत्र भएको, नगरपालिकाले वन क्षेत्र उपभोगको अधिकार लिखित रुपमा दिन नसक्ने र वनको जग्गा प्राप्तिको प्रकृया लामो भएकोले गोदावरी र कृष्णपुरमा आयोजनाको कारखाना यथावत राख्न नसक्ने अवस्था आएको हो ।
गोदावरीमा जग्गा नपाइएपछि धनगढी उपमहानगपालिकालाई आग्रह गरिएको र धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५मा भवन सहितको एक बिगाह तीन कट्टा जग्गा २५ बर्षका लागि उपभोग गर्न दिएको आयोजना प्रमुख भट्टराईले बताए । ‘कनरीको जग्गा आयोजनाको कारखाना निर्माण गर्न एकदम उपयुक्त छ ।’ भट्टराईले भने ‘पछि कारखाना बिस्तार गर्न पनि जग्गा पर्याप्त छ ।’
दुग्ध विकास आयोजनाको कार्यालय र कारखाना कनरीमा सारे पनि अत्तरियामा स्थानीय दुग्ध संकलन केन्द्र र वितरण केन्द्र कायमै रहनेछ ।
अत्तरिया स्थित आयोजनाको कार्यालयमा जेठ ८ गते स्थानीय वासिन्दाले अ तालाबन्दी गरेका हुन् । अत्तरियामा रहेको आयोजनाको कार्यालय बाहिर सार्न नपाइने भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
दुग्ध बिकास आयोजनाले अहिले कैलाली कन्चनपुर र डडेल्धराको आलिताल क्षेत्रबाट दैनिक चार हजार दुध संकलन गरिरहेको छ । हिउदयाममा दैनिक सात हजार लिटरसम्म दुध संकलन हुन्छ ।
संकलित दुधलाई दुग्ध कारखानामा प्रशोधन गरेर दुध, दही, मोही, पनिर, आइसक्रिम, जिरा मोही, लस्सी उत्पादन गरेर बजारमा पठाउछ । बाकी रहेको दुध हेटौडा दुग्ध बिकास कायोजनालाई पठाउने गरेको छ ।