सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलनमा, यातायात ठप्प पार्ने घोषणा

सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलनमा, यातायात ठप्प पार्ने घोषणा

धनगढी । सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले सार्वजनिक यातायात ठप्प पार्ने घोषणा गरेका छन् ।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति तथा सुदूरपश्चिममा रहेका विभिन्न यातायात समितिले धनगढीमा शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूहरुका माग सुनुवाइ नभए जेठ १९ गतेदेखि सार्वजनिक यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजि सवारी साधनले यात्रु ओसारपोसार गर्ने पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरुले विरोध गरेको बताए ।

उनले सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो भन्ने प्रश्न गरे । बाग्मती प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरु कार्यान्वयन हुनुपर्ने माग आफूहरुको रहेको संयोजक जोशीले बताए ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरुपमा ठप्प पार्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन् ।

उनीहरुले राज्यलाई लाखौँ रुपैयाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धरासायी बनाउन खोजेको आरोप लगाएका छन् ।