धनगढी पोष्ट
आइतबार, १८ जेठ २०८२ मा प्रकाशित
सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बीर बहादु थापाले कृषिमा निर्भर संख्या घटाएर कृषि व्यवसायीहरुको संख्या बढाउनु पर्ने बताएका छन् । कृषिमा निर्भरको संख्या धेरै रहे पनि व्यवसायीकरण नहुनाले कृषिको विकास हुन नसकेकोले व्यवसायीको संख्या बढाउनु पर्ने बताएका हुन् ।
‘अब कृषिलाई व्यावसायीकरण गरेर कृषिमा निर्भर रहेका मान्छेको संख्या घटाउनु पर्छ ।’ २५ औं विश्व दुध दिवस २०८२ को अवसरमा आइतवार धनगढीमा आयोजित कार्यक्रममा मन्त्री थापाले भने ‘व्यवसायिक बिकास भएका लगानी गर्छन् र प्रतिफल पनि आउँछ ।’
अहिले व्यवसायीकरण नभएका कारण काम नगर्ने तर सहयोग खोज्ने क्रम रहेको मन्त्री थापाले बताए ।
मन्त्री थापाले अब निश्चित बालीमा उत्पादनमा आधारित अनुदान दिइन लागेको बताए । निकासीयोग्य वस्तुको उत्पादनमा अनुदानलाई प्राथमिकता दिइने उनले बताए ।
सुदुरपश्चिमको कृषि क्षेत्रको विकासको लागि एक पालिका एक उत्पादन कार्यक्रम शुरु गरिएको मन्त्री थापाले बताए । ‘८८ वटै पालिकामा एक पालिका एक उत्पादन कार्यक्रम लगेर जान्छौं’ मन्त्री थापाले भने ‘फरक फरक पालिकामा फरक फरक उत्पादन बनाउँछौं ।’
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश सचिव शंकर शाहले मन्त्रालय किसान केन्द्रित कार्यक्रम चलाउन लागेको बताए । ‘अब किसान केन्द्रित कार्यक्रम चालउँछौं । यसले शहरको पैसा गाउँसम्म लैजान्छ ।’ प्रदेश सचिव शाहले भने ‘यसले मुलुकको अर्थतन्त्रमा पनि योगदान गर्छ ।’
प्रदेश सचिव शाहले दुधको उत्पादन र खपत पहिलेको भन्दा बढेको भन्दै बिद्यालयहरुमा खाजा कार्यक्रमको रुपमा जोड्न सकेमा दुधको माग बढेर जाने बताए ।
पुर्व सहहसभिव डा. डिकरदेव भट्टले अहिले दुध व्यवसाय अहिले धेरै अघि बढेको बताउँदै यसको खपत बढाउनु पर्ने बताए । दुधको उत्पादनमा विविधिकरण गरेर माग बढाउन सकिने भट्टले बताए ।
सुदुरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका सदस्य एव नेपाल डेर एशोसिएसन सुदुरपश्चिमका अध्यक्ष भुपेन्द्र थापाले दुधकै कारण अहिले शहरबाट गाउँमा पैसा गइहेको बताउँदै उत्पादन भएको सबै दुधको बजार सुनिश्चित गर्न पहल गर्नुपर्ने बताए ।
जाडो याममा दुध बढी उत्पादन हुने र दुध बिक्री नहुने समस्या रहेको बताउँदै दुग्ध विकास बोर्डका सदस्य थापाले सुदुरपश्चिममा दुधको बजार सुनिश्चित गर्न दुधको पाउडर प्लान्ट स्थापना अनिवार्य भएको बताए ।
नेपाल बीउ व्यवसायीं संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णुराज बुर्लाकोटीले दुग्ध व्यवसायको फर्म दर्ता अघि नै तालिम दिन सकेमा दुग्ध व्यवसाय सफल बनाउन सहज हुने बताए । दुग्धजन्य उत्पादनको माग बढाउन उपभोक्तामा सचेतना बढाउन आवश्यक रहेको बुर्लाकोटीले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालउ धनगढीका प्रमुख हरेराम प्रधानले दुध मानव स्वास्थ्यका लागि धेरै किसिमले फाइदानजनक भएको बताए ।
पशुपन्क्षी तथा मत्स्य महाशाखाका महानिर्देशक डा. पानसिंह ठगुन्नाले हरेक दिन ३ शय ५० मिलिलिटर दुधको उपभोग गर्नु असल स्वास्थका लागि आवश्यक रहेको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी कैलालीका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. विनोद बहादुर कठायतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनप्याब्सनका टी एन ढकाल, पशुपंक्षी तथा मत्स्य महाशाखाका लाल बहादुर बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सुदुरपश्चिम प्रदेश दुग्ध विकास बोर्डका सदस्य कर्ण बहादुर हमालले गरेका थिए ।
नेपाल डेरी एशोसिएसन सुदुरपश्चिम प्रदेश समिति, धनगढी दुग्ध विकास आयोजना र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढी कैलालीको आयोजनाना दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं नाराका विश्व दुध दिवस मनाइएको हो । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थापाले बालिकाहरुलाई दुध खुवाएर कार्यक्रमको उद्घाटन गरेका हुन् ।