धनगढी पोष्ट
बुधबार, २१ जेठ २०८२ मा प्रकाशित
धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकार विकास र आर्थिक समृद्धि हासिल गर्न क्रियाशील रहेको बताएकी छन् ।
आज धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनको उद्घाटन गर्दै विकास र लगानीका लागि शान्ति र स्थिरता जरुरी रहेको बताइन् ।
मन्त्री राणाले सुशासन, राजनैतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार गठन भएको र त्यसका लागि प्रमुख दुई दल काँग्रेस र एमाले प्रतिबद्ध रहेको प्रष्ट पारिन् ।
उनले सुदूरपश्चिम प्रदेशका विकासको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लगानी सम्मेलनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रका लगानीको वातावरण सृजना गर्ने विश्वास ब्यक्त गरिन ।
सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्तव्य राखेको थिए ।
कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, दातृ निकायका प्रतिनिधि, लगानी बोर्ड तथा नीति तथा योजना आयोगका पदाधिकारी, सरोकारवाला निकाय, विज्ञ लगायतको सहभागिता रहेको थियो ।