धनगढी पोष्ट शुक्रबार, २३ जेठ २०८२   June 6, 2025

गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली संचालनमा

गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन प्रणाली संचालनमा

गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको  संचालनमा आएको  छ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीवार फोहरमैला व्यवस्थापन प्रणालीको  उद्घाटन गरेपछि संचालनमा आएको हो ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो ।

उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले पाएको थियो । पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने छ ।

सो केन्द्रले दैनिक १३.५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताए ।

सो अवसरमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंहले सुदूरपश्चिममा उक्त परियोजना नमुनाको रूपमा रहेको बताए । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंहले  एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

 

 

 

u