धनगढी पोष्ट शनिबार, ०७ असार २०८२   June 21, 2025
कैदीबन्दी मृत्यु प्रकरण

डडेल्धुरा बजार र राजमार्ग बन्द

डडेल्धुरा बजार र राजमार्ग बन्द

धनगढी । कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीको मृत्यु भएपछि डडेल्धुरामा बजार र राजमार्ग अवरुद्व गरिएको छ ।

कैलाली कारागारमा रहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको मृत्यु भएको थियो । परिवारले भने उनको हत्या भएको आरोप लगाएको छ । त्यसमा प्रहरीको संलग्नताका बारेमा पनि परिवारले प्रश्न उठाएको छ ।

त्यही घटनाको विरोधमा डडेल्धुरा सदरमुकाममा बजार र राजमार्ग बन्द गरिएको हो । घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिए ।

कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ । मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो । शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ ।’

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार सोमबार पाली एक्कासि बिरामी भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएको आधा घण्टामै उनको मृत्यु भएको डीएसपी सिंहले बताए । ‘जाहेरी नआउँदा अहिलेसम्म शवको पोस्टमार्टम पनि भएको छैन,’ डीएसपी सिंहले भने, ‘पोस्टमार्टम भएपछि घटनाबारे अनुसन्धान अगाडि बढ्छ ।’

बैंकिङ्ग कसुरमा पालीलाई २९ फागुनमा कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख जरिवाना तोकेको थियो । सोही सजाय कार्यान्वयन गर्न पालीलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो । पक्राउपछिको दुई दिनमै उनको मृत्यु भएको हो ।

कैलाली प्रहरीले पालीलाई पक्राउ गर्नुअघि कञ्चनपुरको महेन्द्रनगरमा पनि उनलाई दुई घण्टा हिरासतमा राखिएको बताइएको छ । त्यहाँ प्रहरीले उनीबाट रकम असुली गरेको आरोप पनि आफन्तले जनाएका छन् ।