धनगढी पोष्ट आइतबार, ०८ असार २०८२   June 22, 2025

कैलालीमा सुत्केरी भाउजुको देवरबाटै हत्या

कैलालीमा सुत्केरी भाउजुको देवरबाटै हत्या

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७  कैलाशपुरमा मृत भेटिएकी सुत्केरी महिलाको हत्या आफ्नै देवरले गरेको प्रहरीले निष्कर्ष निकालेको छ।

कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको खुलेको हो। प्रहरीले नाथको हत्या गरेको अभियोगमा सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको जानकारी दिए। 

उनकाअनुसार नवीनले सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख थुनेर हत्या गरेको बयान दिएका छन्।

भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएर राखेको प्रहरीसमक्ष नवीनले बयान दिएका थिए। त्यसपछि नवीनको बयानका आधारमा सोही स्थानमा सुन फेला परेको प्रहरी जनाएको छ।

नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् भने उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो।

प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उहाँको मृत्युका कारण पत्ता लगाउन सकेको थिएन, तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी बालनरसिंह रानाले जटिल अवस्थामा पुगेको घटनालाई सूक्ष्म अनुसन्धान गरेर सफलता प्राप्त भएको बताए। 

हत्या भएको बेलामा घरमा अन्य परिवारका सदस्य नभएको बताइएको छ। मृतकका सासुससुरा पहाड गएका थिए भने श्रीमान् रोजगारीका लागि भारतमा थिए।