धनगढी पोष्ट
आइतबार, ०८ असार २०८२ मा प्रकाशित
कञ्चनपुर। भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ ।
आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका–१ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार डोटीका मल्लसहित ३५ जनालाई विगत लामो समयदेखि उद्यमसिंह नगरमा बन्धक बनाइएको थियो ।
दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा ‘परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था) को सहयोगमा यही मिति असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको’ उल्लेख छ ।
उनीहरूको उद्धार गरी राजदूतावासको संस्थागत समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको डिएसपी गौतमले जानकारी दिए ।
आकर्षक जागिरको प्रलोभनमा नेपालको डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका युवालाई त्यहाँ बोलाएर बन्दी बनाइएको थियो ।
उद्धार गरिएका युवाहरू १६ देखि ४१ वर्ष उमेर समूहका छन् । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरिएको खुल्नमा आएको डिएसपी गौतमले बताए ।
उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतको उत्तराखण्डका अरू स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको डिएसपी गौतमले बताए ।