धनगढी पोष्ट शुक्रबार, २० असार २०८२   July 4, 2025
धनगढीमा युवती मृत फेला प्रकरण

हत्याको आशंका, घाँटीमा धारिलो हतियारको चोट

हत्याको आशंका, घाँटीमा धारिलो हतियारको चोट

धनगढी । कैलालीको धनगढीमा मृत फेला परेकी युवतीको प्रारम्भिक अनुसन्धानबाट हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सोमबार बिहान धनगढी उपमहानगरपालिका–२, बैयाबेहडीस्थित आफ्नै कोठामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ की ३० वर्षीया रेणु चौधरी मृत फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार युवतीको घाँटी र कन्चटमा धारिलो हतियारको चोट छ ।

‘घटना शंकास्पद छ,’ डीएसपी सिंहले भने, ‘घटनाको अनुसन्धानका लागि हामीले तालिमप्राप्त कुकुरको पनि प्रयोग गरेका छौँ ।’ शवमा गन्ध आएका कारण केही दिनअघि नै उनको हत्या भएको आशंका गरिएको छ ।

डीएसपी सिंहका अनुसार बाहिरबाट ताला लगाएको कोठामा चौधरी मृत फेला परेकी हुन् । चौधरी खानेपानी संस्थान धनगढीमा कार्यालय सहयोगी थिइन् ।

कार्यालयका अनुसार चौधरीलाई बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको एक तालिममा पठाइएको थियो । सोही दिनदेखि उनी कार्यालयमा आएकी थिइनन् ।