धनगढी पोष्ट
सोमबार, १६ असार २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिममा ४९ दशमलव १६ प्रतिशत धान रोपाई भएकोे छ । असार १५ गतेसम्म प्रदेशका नौ जिल्लामा ८६ हजार छ सय एक हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोे हो ।
कृषि विकास निर्देशनालय डोटीका सूचना अधिकारी केशव पाण्डेका अनुसार यस वर्ष प्रदेशमा कुल एक लाख ७६ हजार एक सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान छ । गत वर्षको हाराहारीमा यस वर्ष एक÷दुई प्रतिशतले लत माथि भएपनि गत वर्षकै हाराहारीमा धान रोपाई सकिएको उनले बताए ।
प्रदेशमा सबैभन्दा बढी बझाङमा धान रोपाई सकिएको छ, भने सबैभन्दा कम कैलालीमा धान रोपाई सकिएको छ । बझाङमा १० हजार तीन सय धान रोपाई हुने खेतीयोग्य जमिन रहेकोमा हालसम्म सात हजार चार सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ७२.६७ प्रतिशत धान रोपाई सकिएको छ ।
कैलालीमा ६७ हजार चार सय ३६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने खेती योग्य जमिन रहेकोमा २९ हजार नौ सय ७६ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ४० प्रतिशतमा धान रोपाई सकिएको हो ।
कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा २१ हजार आठ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ४५ प्रतिशत धान रोपाई सकिएको हो ।
यसैगरी, डडेल्धुरामा छ हजार एक सय २० हेक्टर क्षेत्रफलमा धान रोपाई हुने खेती योग्य जमिन रहेकोमा तीन हजार छ सय ७२ हेक्टर क्षेत्रफमा धान रोपाई सकिएको छ । अर्थात ६० प्रतिशत धान रोपाई सकिएको छ ।
दार्चुलामा चार हजार चार सय ८० हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ७०.८७ प्रतिशत धान रोपाई सकिएको हो ।
डोटीमा छ हजार चार सय २६ हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा दुई हजार छ सय ९९ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ४२ प्रतिशत धान रोपाई सकिएको हो ।
यस्तै, अछाममा १६ हजार पाँच सय ९० हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा ११ हजार छ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ७०.०१ प्रतिशत धान रोपाई सकिएको हो ।
बैतडीमा नौ हजार हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफल धान रोपाई सकिएको छ । अर्थात ६५ प्रतिशत धान रोपाई सकिएको हो ।
बाजुरामा सात हजार तीन सय हेक्टर क्षेत्रफल खेती योग्य जमिन रहेकोमा तीन हजार तीन सय चार हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको छ । अर्थात ४५.२४ प्रतिशत धान रोपाई सकिएको छ ।
यस वर्ष मनसुनी वर्षा विगतको भन्दा केही छिट्टै सुरु हुने पूर्वानुमानका कारण किसानले धानको ब्याड राखेर रोपाइको तयारी गरे पनि पर्याप्त वर्षा नहुँदा रोपाई कम भएको सूचना अधिकारी पाण्डेले बताए । वर्षा सुरु भएसँगै अबको केही दिनमै रोपाईको प्रतिशत बढ्ने उनले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर विष्टका अनुसार असार पहिलो र दोस्रो सातातिर मनसुन राम्रोसँग सक्रिय नभएका कारण कम रोपाइँ भएको छ ।
उनले जिल्लाको पश्चिमी क्षेत्रमा अझै धेरै रोपाइँ गर्न बाँकी रहेको बताए । पूर्वी क्षेत्रमा पहिल्यै पानी परेकाले त्यतातिर अलि बढी रोपाइँ भएको उनले बताए ।