धनगढी पोष्ट
शुक्रबार, २० असार २०८२ मा प्रकाशित
धरान । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित सुनसरी प्रहरीले ५ जना कारोबारीलाई पक्राउ गरेको छ । भारतको बिरपुरबाट लागुऔषध खरिद गरि नेपालको सुनसरीतर्फ आउँदै गरेका उनीहरूलाई कोशी गाउँपालिका-१ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन् ।
बिहीबार राति भारतबाट सुनसरीको कोशी गाउँपालिका-१ लौकही स्थित भन्सार गेट अगाडि सडक खण्डमा लागुऔषध ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए ।
उनले को। ३८ प। ७९६० नम्बरको स्कुटरमा सवार सुनसरी धरान उपमहानगरपालिका- १७ बस्ने २३ वर्षीय मनिष लिम्बू र सोही मोटरसाइकलमा पछाडि सवार धरान- ११ बस्ने १९ वर्षीय मनिष राईलाई ५.९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताए ।
चालक मनिषले मलद्वारमा च्यापी ल्याएको अवस्थामा उक्त ब्राउन सुगर बरामद गरिएको डीएसपी खतिवडाले बताए। त्यस्तै भारतबाट पैदल आउँदै गरेको सुनसरीको कोशी गाउँपालिका-४ बस्ने २४ वर्षीय सम्साद मिया पनि लागुऔषधसहित पक्राउ परेका छन्।
सुनसरीको इनरुवा नगरपालिका-४ बस्ने २० वर्षीय शिवदेव खत्वे र २० वर्षीय नितेश स्वर्णकारमध्ये शिवदेवको साथबाट २ सय ५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको डीएसपी खतिवडाले बताए ।
पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रखेर घटनाको थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताएका छन् ।